१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारङ्गीको धुनमा गुजारा



अ+ अ-

तनहुँ। बुटवल बसोबास गर्दै आउनुभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती हुनुभएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्नुहुन्छ । परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताउनुभएको छ ।

वर्षौँदेखि उहाँहरूको दिनचर्या नै फरक छ, बिहानै घरबाट निस्कने, विभिन्न गाडी चढ्दै यात्रीहरूसामु गीत प्रस्तुत गर्ने । बस, माइक्रोबस वा अन्य सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै उहाँहरू सारङ्गी बजाएर लोकगीत गाउनुहुन्छ । उहाँहरूको स्वर र धुनले यात्रीलाई भावुक बनाउँछ, कतिपयलाई आफ्नो गाउँघर, परिवार र विगतका सम्झनामा डुबाउँछ ।

यात्रीहरूले गीतको प्रशंसा गर्दै स्वेच्छाले दिने रकम नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो । “कहिलेकाहीँ धेरै राम्रो कमाइ हुन्छ, यहीँबाटै हाम्रो घर चलेको छ”, लोकबहादुरले भन्नुभयो । उहाँका अनुसार दैनिक कमाइ स्थिर नभए पनि नियमित मेहनतले घरखर्च टार्न गाह्रो छैन ।

उहाँहरुका चार जना छोराछोरी छन् । उहाँहरूले यही पेसाबाट कमाएको आम्दानीले छोराछोरीलाई हुर्काएका छन् । “आफ्नै मेहनतले परिवार पाल्न सकेका छौँ, यही नै ठूलो कुरा हो”, डल्ली गन्धर्व भन्नुहुन्छ । उहाँहरु गीत गाउँदै देशका विभिन्न जिल्ला पुगिसक्नुभएको छ । पूर्वदेखि पश्चिमसम्मका सडकमा यात्रा गर्दै, नयाँ ठाउँ हेर्दै र मानिससँग भेटघाट गर्दै उहाँहरूको जीवन बितेको छ ।

आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला सारङ्गीजस्ता परम्परागत बाजा र गन्धर्व समुदायको पेसा सङ्कटमा परेको छ ।

नयाँ पुस्ता वैकल्पिक पेसातर्फ आकर्षित हुँदा यस्ता मौलिक कला लोप हुने खतरा बढ्दो रहेको लोकबहादुर बताउनुहुन्छ । “यो हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो । जबसम्म सक्छौँ, हामी यही गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । गन्धर्व दम्पतीको कथा केवल जीविकोपार्जनको कथामात्र होइन, यो सङ्घर्ष, आत्मसम्मान र सांस्कृतिक संरक्षणको कथा पनि हो । रासस