• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   गगन थापालाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो



पाल्पा । निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेती पर्यटकलाई लोभ्याउन सफल बनेको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको छ । यहाँको २२५ हेक्टर वन क्षेत्रमा व्यावसायिक रु अम्रिसो खेती हुँदै आएको छ । इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्रिसो खेतीले दिएको छ ।

व्यावसायिक अम्रिसो खेतीको अध्ययन अनुसन्धान गर्नेहरु रुचिका साथ अम्रिसोको बगानमा टेक्छन् । युवा वनभोज तथा हिमालका सुन्दर दृष्य खिंच्न काउलेडाँडाको अम्रिसो खेतीमा लोभिन्छन् । दैनिक चारदेखि २० समूहसम्मका पर्यटक काउलेडाँडा पुग्छन् । हिमाली सुन्दर दृष्य, मगर संस्कृति र अम्रिसो बगान सुन्दर दृष्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीयबासिन्दाको जीविकोपार्जनमा टेवा पुर्याउन सफल बनेको छ ।

डाँडाको वन क्षेत्रको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउन मात्र सफल मात्र भएको छैन, स्थानीयबासिन्दालाई अम्रिसोको फूलबाट दुईचार पैसा हात पनि परेको छ । अम्रिसो खेतीपछि गाईभैंसीपालनप्रति आकर्षण बढ्दो छ । अम्रिसोको पात घाँसका रुपमा प्रयोग हुन्छ । डाँडाबस्तीमा घाँसको समस्यासमेत अम्रिसोले हल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ । अम्रिसोसँगै त्यहाँ तेजपात, टिमुरलगायत बिरुवा पनि रोपिएको छ ।

कबुलियती वन कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर पाटाले वार्षिक रु एक करोड बराबरको अम्रिसो जिल्ला बाहिर जाने बताउनुभयो । कबुलियती वन कृषि सहकारीमार्फत आर्थिक कारोबार हुँदै आएको छ । कबुलियती वनमा आबद्ध सदस्यले कृषि सहकारीसमेत सञ्चालन गरेका छन् । “कृषकले अम्रिसोको आम्दानी सहकारी संस्थामा बचत गर्नुका साथै आवश्यकताअनुसार लगानी पनि गर्छन्,” अध्यक्ष पाटाले भन्नुभयो ।

पहाडका पाल्पा, गुल्मी र स्याङ्जा तथा तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका आन्तरिक पर्यटकको यहाँ ओइरो लागेको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले २२७ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेतीबाट स्थानीय बासिन्दाको जीवीकोपार्जनमा टेवा पुगेको बताउनुभयो । वन कार्यालयले आव २०६६÷०६७ मा काउलेडाँडा कबुलियती वन स्थानीय बासिन्दालाई हस्तान्तरण गरेको थियो । स्थानीय बासिन्दाको अगुवाइमा व्यावसायिक अम्रिसो गरी गरिएको हो । पहिले चरिचरन हुने डाँडा बुट्यानले घेरिएको थियो ।

वनको आर्थिक तथा प्राविधिक सहयोगमा वनमारालगायत कुकाठ फँडानी गरेर अम्रिसो खेती गरी अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो ।
वनको सेवा क्षेत्रभित्र २ सय ५० घरधुरी बसोबास गर्छन् । वन व्यवस्थापनका लागि १९ समूहमा बाँडिएको छ । समूहले वन र अम्रिसोको व्यवस्थापन, बजारीकरण तथा वनको रेखदेख गर्दै आएको छ । स्थानीय बासिन्दाको रेखदेखमा वन सञ्चालनमा आएपछि हरियाली र वन्यजन्तुको सङ्ख्या बढेको हो । वन कार्यालयले ४० वर्षका लागि स्थानीय बासिन्दालाई वन हस्तान्तरण गरेसँगै रोजीरोटी गर्ने बाटो खुलेको हो ।

अम्रिसो खेती हेर्नका लागि वन क्षेत्रमा प्रवेश गर्दा शुल्क मोटरसाइकललाई रु ५० , कार जीपलाई रु आठ सय र बसलाई रु एक हजार पाँच सय तिर्नुपर्ने व्यवस्था छ । शुल्क तिरेपछि वन क्षेत्रमा वनभोज तथा रमाइलो गर्न पाइन्छ । अम्रिसो प्रतिकिलो रु ५० देखि रु ९० मा खरीदबिक्री हुन्छ । पाल्पामा उत्पादित अम्रिसो रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङलगायत जिल्लामा जाने गरेको छ ।

नेपाली अम्रिसो कुचो भारतीय बजारमा समेत निकासी हुँदै आएको स्थानीय बासिन्दाको भनाइ छ । अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको देखेर अम्रिसो घारी हेर्ने र वनभोज गर्नेको चहलपहल बढ्दो छ । यही नमूनाको काम देखेर जिल्लाका विभिन्न भागमा समेत कबुलियती वनप्रति स्थानीयवासीको आकर्षण बढ्दो छ । जडीबुटी खेतीबाट स्थानीय बासिन्दाको जीवीकोपार्जन टेवा पु¥याउने वन कार्यालयको लक्ष्य छ ।