५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, मानव अधिकार उल्लङ्घनको चिन्ता



अ+ अ-

काठमाडौं ।  बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा आधारभूत सेवा र मानव अधिकारमा गम्भीर समस्या देखिएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम नेपालले गरेको संयुक्त अनुगमनमा सात सय क्षमताको कारागारमा ८८९ जना कैदीबन्दी तथा थुनुवा राखिएको पाइएको हो।

अनुगमनका क्रममा कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जनासम्म बस्न बाध्य रहेको, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने अवस्था रहेको तथा स्वास्थ्य सेवा र पठनपाठनका व्यवस्थित सुविधा अभाव रहेको पाइएको छ। यसका कारण उनीहरूले दैनिक जीवनयापनमा विभिन्न कठिनाइ भोग्नुपरेको बताएका छन्।

एडभोकेसी फोरम नेपालका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतमले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिनु मानव अधिकार उल्लङ्घनको गम्भीर विषय भएको उल्लेख गरे।

उनले आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय सुविधा, न्यायिक प्रक्रिया र शिक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको पनि निरीक्षण गरेको छ। उक्त हिरासतमा हाल ६१ जना थुनुवा रहेको र केहीको म्याद थप नभई अनुसन्धानकै क्रममा रहेको अवस्था भेटिएको जानकारी दिइएको छ।

अनुगमन टोलीले कारागारभित्र कैदीबन्दीको आधारभूत मानव अधिकार, स्वास्थ्य, सरसफाइ तथा न्यायिक प्रक्रियामा देखिएका समस्याको विस्तृत अध्ययन आवश्यक रहेको औँल्याएको छ। टोलीका अनुसार कारागार व्यवस्थापन, दैनिक जीवनयापन र आधारभूत अधिकार सुनिश्चिततामा कमजोरी देखिएको छ।

इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले थुनुवाहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य सेवा र खानाको गुणस्तर सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

यसैबीच, नौवस्ता कारागारमा हाल ६९१ जना कैदीबन्दी रहेको जानकारी दिइएको छ। अनुगमन टोलीले कारागारको आवास क्षमता वृद्धि, भीडभाड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच विस्तार, न्यायिक सूचना प्रवाह तथा शिक्षा र धार्मिक अभ्यासको व्यवस्था प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ।