१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत्र कृष्ण चतुर्दशी: काठमाडौँ उपत्यकामा पाहाँचह्रे जात्रा आजदेखि सुरु



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रुपमा मनाउने पाहाँचह्रे जात्रा आजदेखि सुरु भएको छ ।

यसलाई ‘पासाचह्रे’ पनि भन्दछन् । नेवारी भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ ।

यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसै कसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद् प्रकाशमान श्रेष्ठले बताउनुभयो ।

यस चाडलाई काठमाडौँमा नेवार सम्प्रदायले दसैँ र तिहारजस्तै मनाउँदै आएका छन् । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् ।

मानिसले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुराहरू खान्छन् । पाँहाचह्रेका दिन मुख्यतया समय्बजी खाइन्छ ।

यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ । विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाहाँचह्रे पर्व मनाउने चलन छ ।

यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । ‘लुकु महाद्यः’ भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ ।

घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ । यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ ।

कङ्केश्वरी मन्दिरमा यो जात्रा सुरु भइसकेको काठमाडौँ महानगरपालिका वडा नं १९ का वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिनुभयो । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ ।

८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । पाहाँचह्रेको अन्तिम दिन बिहीबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, नीलो र पहेँलो गरी तीन वटा रङका टोपी र टी–सर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् ।

भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को खट बोक्नेले चिराग साट्ने गर्छन्। यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ। पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ। खट तीन वटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को हुन्छ ।

यस जात्राका अवसरमा रातो, नीलो र पहेँलो गरी तीन वटा रङका टोपी र टी–सर्ट लगाएका मानिस असनको मुख्य चोकमा भेला हुन्छन् । रासस