१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर



अ+ अ-

झापा।  कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उहाँलाई धौधौ थियो ।

अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उहाँले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनुपर्यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ । हिजो अर्काको मजदुरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ ।

सानैदेखिको गरिखाने यही सोचले आज उहाँलाई वार्षिक करोडको कारोबार गर्ने उद्यमी बनाएको हो । भृकुटीको सरस्वती टोलमा उहाँको गणेश नर्सरी उद्योग सञ्चालनमा छ । जहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन् । झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका बिरुवा बिक्री हुने गरेको छ ।

विसं २०७३ मा आफ्नो खल्तीमा भएको मात्र रु दुई हजार ७०० को सानो पुँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताउनुभयो । सीमित स्रोत र साधनका बाबजुद उहाँको दृढसङ्कल्पले आकार लिँदै गयो । अहिले नर्सरी व्यवसायबाटै उहाँले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोबार गर्नुहुन्छ । उद्यम गरेरै उहाँले सुविधाजनक घर र घडेरी जोड्नुभएको छ ।

“आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो”, उहाँ भन्नुहुन्छ, “सानो छँदा कुखुरा व्यापार गरेर घरखर्च चलाउन सघाउँथे । अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदैछु । पहिले अरूकामा मजदुरी पनि गर्थेँ, अहिले अरुले मेरो उद्योगमा रोजगारी पाइरहनुभएको छ ।”

झापा सुपारीखेतीको उर्वर भूमि भएकाले उहाँले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखा फैलिएका छन् । उहाँले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ । गाउँमा घरैपिच्छे सुपारी फलेका छन् । आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर बिक्री गर्दै आएको बताउनुभयो । सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन् ।

भीमबहादुरको सफलताको जग मेहनतको जगमा उभिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्यो । कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा डोहोर्याउँदै बजार पुर्याएर बेच्ने उहाँको दैनिकी थियो । स्थानीय हटियामा गाई–बाख्राको व्यापार गर्दागर्दै उहाँले व्यापारको कखरा सिक्नुभयो ।

त्यतिमात्र होइन, उहाँले नवयुवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’को कामसमेत गर्नुभयो । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उहाँ पूर्ण रूपमा स्वरोजगारको खोजीमा लाग्नुभयो । शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उहाँले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गर्नुभयो, जसले उहाँको जीवनलाई नयाँ मोड दियो ।

“इमान्दारी, मेहनत र लगनशीलताका साथ काम गर्यो भने सफलता टाढा हुँदोरहेनछ”, उहाँको सफलतालाई नजिकबाट नियालिरहनुभएका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्नुहुन्छ, “आफ्नो अनुभव र सीपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदोरहेछ । विदेश जानु पर्दोरहेनछ भन्ने उहाँले प्रमाणित गरिदिनुभयो ।”

भीमबहादुरको यो व्यावसायिक फड्कोमा उहाँकी धर्मपत्नी तुलसी भट्टराईको बलियो साथ छ । “मैले कहिले पनि उहाँलाई विदेश गएर धन कमाउनुहोस् भनिनँ”, भीमबहादुरकी पत्नी तुलसी भन्नुहुन्छ, “उहाँमा अल्छी भावना कहिल्यै पाइनँ । कामलाई ठूलो र सानो भनेर छुट्याउनुहुन्न । उहाँलाई देखेर गाउँका युवाहरू व्यवसायमा लाग्न थालेका छन् ।”

भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिनुभएको छ । व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । भानु माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाउनुभएको छ । भृकुटी गाउँमा सुविधासम्पन्न पाटी प्यालेस निर्माणको अन्तिम तयारीमा जुट्नुभएको छ ।

रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण हुनुुहुन्छ । मेहनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदुरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुनुहुन्छ– भीमबहादुर । रासस