१ असार २०८३, सोमबार
,
Latest
बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन जोगाउन भोजपुरमा डढेलो नियन्त्रण अभियान सञ्चालन



अ+ अ-

भोजपुर। वन डढेलोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सप्ताहव्यापी वन डढेलो व्यवस्थापन अभियान सञ्चालन गरिएको छ ।

जिल्लामा प्रत्येक वर्ष सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्ने भएकाले सम्भावित जोखिम क्षेत्रलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालयले अभियान सुरु गरेको हो ।

अभियानअन्तर्गत जनस्तरसम्म वन डढेलोका कारण, त्यसबाट हुने क्षति र रोकथामका उपायबारे जानकारी दिने कार्यक्रम सञ्चालन गरिएको छ । यस क्रममा जनचेतनामूलक सामग्री वितरण, सञ्चार माध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने लगायतका गतिविधिलाई तीव्र पारिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरोकारवाला निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्थानीय नागरिकको सहभागितामा प्रभातफेरी, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । “वन डढेलो नियन्त्रण तथा रोकथामका लागि चैत १ गतेदेखि सप्ताहव्यापी अभियान सञ्चालन गरेका छौँ,” प्रमुख मियाँले भन्नुभयो, “यस अभियानमार्फत जनस्तरसम्म सचेतना फैलाउने, वन क्षेत्रमा हुने लापरबाही कम गर्ने र डढेलोका घटनालाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।”

अभियानका क्रममा अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न स्थानमा वन डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक सन्देशसहितका होर्डिङ बोर्ड राखिएको वन कार्यालयले जनाएको छ । त्यस्तै अन्य स्थानीय तहका मुख्य सडक तथा वन क्षेत्र नजिकका स्थानमा पनि सचेतनामूलक सूचना राख्ने तयारी गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा वन क्षेत्रमा अग्नि रेखा निर्माण गर्ने, झाडी सफा गर्ने, जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती गर्ने र वन हेरालुमार्फत वनको निगरानी बढाउने कामसमेत भइरहेको छ । डढेलो फैलन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँ विशेष सतर्कता अपनाइएको कार्यालयले जनाएको छ ।

मुख्य रूपमा पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिका, अरुण गाउँपालिका, रामप्रसादराई गाउँपालिका र भोजपुर नगरपालिकाको तल्लो भेग डढेलोको उच्च जोखिममा रहेको जनाइएको छ ।

ती क्षेत्रमा वन क्षेत्र घना हुनुका साथै सुख्खा मौसममा घाँसपात तथा झाडी सुक्ने भएकाले डढेलो फैलने सम्भावना बढी रहने वन कार्यालयको भनाइ छ । त्यसैले ती क्षेत्रहरूमा निगरानी बढाइएको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारीसमेत गरिएको छ ।

वन क्षेत्रमा हुने डढेलोले वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै जैविक विविधता, वातावरण र मानव बस्तीमासमेत ठूलो असर पार्ने भएकाले सबै नागरिकलाई सचेत रहन वन कार्यालयले आग्रह गरेको छ । विशेषगरी वन क्षेत्रमा घाँसपात जलाउने, चुरोट वा आगलागीजन्य पदार्थ लापरवाहीपूर्वक फाल्ने जस्ता गतिविधि नगर्न तथा डढेलो लागेको जानकारी भएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ ।

वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक हुने भएकाले जनस्तरमै सचेतना अभिवृद्धि गर्न यस्ता अभियान प्रभावकारी हुने जानकारहरुको भनाइ छ । यहाँ ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सप्ताहव्यापी अभियान सुरु भएको हो । रासस