काठमाडौं ।हालै सम्पन्न निर्वाचनलाई उत्साहजनक रूपमा सम्पन्न गराउन सहयोग गर्ने सम्बद्ध सबै पक्षलाई धन्यवाद दिइएको छ। लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक तथा कानुनी दृष्टिले सर्वोत्तम प्रक्रिया भएको उल्लेख गर्दै मन्त्री अर्यालले अब संविधान कार्यान्वयन र नेपाली जनताले प्राप्त गरेका हक–अधिकारलाई संस्थागत गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले स्वतन्त्र, निष्पक्ष, भयरहित तथा मर्यादित वातावरणमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न देशभरका मतदाताले देखाएको उत्साह र सक्रियताको प्रशंसा गर्नुभयो। यस्तो सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता झल्काएको मन्त्री अर्यालको भनाइ छ।
नागरिक अभियानले पनि विषम परिस्थितिका बाबजुद शान्तिपूर्ण, मर्यादित तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेको छ। अभियानका अनुसार यसले नागरिकमा लोकतन्त्रप्रतिको विश्वासलाई अझ मजबुत बनाएको छ।
अभियानले आवधिक निर्वाचनलाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै यस्तो संवेदनशील राष्ट्रिय दायित्वलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सरकारद्वारा गरिएको नीतिगत, प्रशासनिक तथा सुरक्षा व्यवस्थासम्बन्धी तयारी तथा समन्वय सराहनीय रहेको जनाएको छ।
निर्वाचन अवधिभर कायम गरिएको शान्तिसुरक्षा, नागरिकको सहभागितामूलक वातावरण सुनिश्चित गर्न गरिएको पहल तथा निर्वाचन प्रक्रियाप्रति जनविश्वास अभिवृद्धि गर्न सरकारले गरेको सक्रिय प्रयासले लोकतान्त्रिक प्रणालीप्रति जनआस्था सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगेको अभियानले उल्लेख गरेको छ।
साथै यस महत्वपूर्ण राष्ट्रिय कार्यलाई सफल बनाउन सरकारका मन्त्रीहरू, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र तथा सम्बन्धित सबै निकायले खेलेको समन्वयात्मक र उत्तरदायी भूमिकाको समेत प्रशंसा गरिएको छ।
नागरिक अभियानले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, मानवअधिकार संरक्षण तथा सुशासन प्रवर्द्धनमा सरकारको सक्रिय नेतृत्व र प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरेको छ।











