८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याकेजमा सहमति खोजिँदै, नेकपा–राजपा छलफल



अ+ अ-

समाजवादीले समर्थन फिर्ता लिएपछि ओली नेतृत्व सरकारको दुईतिहाई गुम्यो , राजपा फकाउँदै समाजवादी

काठमाडौं । संघीय समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकारको दुईतिहाई मत गुमेको छ । दुईतिहाई मत गुमे पनि सरकारको स्पष्ट बहुमत रहेकाले तत्काल कुनै असर पर्ने छैन । तर, नयाँ विकसित राजनीतिक घटनाक्रमसँगै प्रदेश–२ सरकार भने संकटमा देखिन थालेको छ । समाजवादी सरकारबाट बाहिरिएपछि अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने गृहकार्य सुरु भएको छ । अनौपचारिक रूपमा दुई पार्टी निरन्तर छलफलमा जुटे पनि सरकारमा सहभागी हुन राजपाले दुईओटा सर्तअघि सारेको छ ।

संविधान संशोधन र सांसद रेशम चौधरीको रिहाईसहित मुद्दा फिर्ता लिएपछि मात्र सरकारमा सहभागी हुने राजपाको सर्त रहेको छ । संविधान संशोधनका विषयमा सरकारले यसअघि नै औचित्यका आधारमा गर्न सकिने धारणा राख्दै आएको छ । तर, सांसद चौधरीको रिहाईका विषयमा सरकार लचिलो बन्न सक्ने नेकपा स्रोतको भनाइ छ । दुई पार्टीबीचमा कुरा नमिले तत्काल मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । केही दिन प्रधानमन्त्रीले कानुन र सहरी विकास मन्त्रालय चलाउने र सहमति भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

राजपासँग प्याकेजमा सहमति जुटाउने तयारी नेकपाको छ । जसमा मन्त्री, उपसभामुख र प्रदेश–२ सरकार रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नै प्रदेश–२ सरकारप्रति असन्तुष्टि जनाएका थिए । त्यसैले नेकपा प्रदेश–२ मा फागुनपछि सरकार परिवर्तन गर्ने तयारीमा रहेको छ । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसकिने संवैधानिक प्रावधान रहेकाले फागुनपछि सरकार परिवर्तन हुन सक्ने संकेत नेताहरूले गरिरहेका छन् । स्रोतका अनुसार नेकपाकै चाहानाअनुसार संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो ।

नेकपा र राजपाबीच माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति बन्यो । त्यही सहमतिपछि समाजवादी झस्कियो र मंगलबार सत्ताबाट बाहिरियो । मंगलबार सत्ताबाट बाहिरिएको भोलिपल्ट सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको बताए । उनले प्रधानमन्त्रीले राजनीतिक संस्कार नदेखाएको आरोप लगाए । तर, पत्रकार सम्मेलनमा अध्यक्ष यादवले अर्को प्रतिस्पर्धी दल राजपा सरकारमा जान सक्छ भन्ने भय भने देखाए ।

राजपाले सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने आफूलाई नलागेको बताए । ‘राजपाले वर्तमान सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने विश्वास मलाई छैन,’ यादवले भने । समाजवादी बाहिरिएपछि ओली सरकारको दुई तिहाईको दम्भ समाप्त भएको पनि यादवले बताए । ‘सरकारमा कम्युनिस्ट मात्रै होइन, अन्य पार्टी पनि छन्, हामीसँग दुई तिहाई छ भन्ने दम्भ थियो, त्यो अब तोडिएको छ,’ यादवले भने । यद्यपि उनले राजपाकै आग्रहमा सरकार छाडेको दाबी भने गर्न छाडेनन् । समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरणका लागि पहिल्यैदेखि छलफल चल्दै आएको थियो ।

पार्टी एकीकरणका लागि राजपाले राखेको एक प्रमुख सर्त थियो – समाजवादीले सरकार छाड्नुपर्ने तर, समाजवादीले आफूले भनेजस्तो मन्त्रालय पाउँदासम्म राजपाको सो सर्त सुन्नै मानेन । पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुग्न रोक्ने त्यो सर्तलाई देखाउँदै पत्रकार सम्मेलनमा यादवले भने, ‘सरकार छाड्नुपर्छ भन्ने राजपाको माग थियो, यो माग पनि पूरा भएको छ । अब पार्टी एकीकरण गर्न सजिलो हुन्छ ।’

केही प्राविधिक (पद बाँडफाँड) बाहेक अन्य सबै कुरा मिलिसकेको अवस्थामा समाजवादीले सरकार छाड्दा पार्टी एकीकरणको वातावरण बनेको उपेन्द्रले बताए । तर, राजपाले भने यादवको सो भनाइको खण्डन गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफ्ना माग पूरा भए सरकारमा सहभागी हुने स्पष्ट पारे । उनले सत्तारुढ दलसँग छलफल चलिरहेको स्पष्ट पार्दै माग पूरा भए सरकारमा सहभागी हुने बताए ।

‘हामीले जति वेला भनेका थियौँ, त्यतिवेला सरकार छाडेको भए पार्टी एकता लागि त्याग गरेको सन्देश जान्थ्यो । मुद्दाका लागि सरकार छोडेको भनेर क्रान्तिकारीपन पनि देखिन्थ्यो । अहिले सरकार छाडेपछि त सञ्चारमाध्यम केके कुरा आइरहेका छन्’, महतोले भने । यद्यपि उनले मुलुकलाई एकीकरण चाहिएकोले त्यसका लागि प्रयत्नशील रहने स्पष्ट पारे । सौर्य दैनिकबाट