काठमाडौं: नेपाल एयरलाइन्सको एउटा विमान चीनको ग्वान्झाउ विमानस्थलमा अर्को विमानसँग ठोक्किएको घटनालाई गुपचुप राख्ने प्रयास गरेको पाइएको छ ।
स्रोतका अनुसार नेपाल एयरलाइन्सको आरएनए ४१८ (एयरबस ए३२०) विमान उडानका लागि धावनमार्गमा लैजाँदा अर्को विमानसँग ठोक्किएको थियो ।
नेपाल एयरलाइन्सले यस घटनालाई सामान्य रुपमा लिए पनि चिनियाँ अधिकारीहरुले गम्भीर सुरक्षा प्रोटोकल उल्लंघन र लापरवाही भनेको छ ।
गत माघ २३ गते ग्वान्झाउबाट काठमाडौंका लागि उडान भर्न लागेको विमानका वरिष्ठ क्याप्टेन उद्धव घिमिरेले उडान तयारीका क्रममा विमानस्थलको सुरक्षा नियम उल्लंघन गरेको बताइएको छ।
यस घटनापछि चीनको नागरिक उड्डयन विभागले नेपाल एयरलाइन्सका अधिकारीलाई ग्वान्झाउमा उपस्थित भएर घटनाबारे प्रष्ट पार्न पटक–पटक स्पष्टीकरण मागेको छ। स्रोतका अनुसार टेकअफ क्षेत्रमा देखिएको नेभिगेशन त्रुटिसम्बन्धी उडान सञ्चालन विवरण पठाउन औपचारिक पत्राचार गरेको थियो।
नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीका अनुसार चिनिया पक्षले घटना हुँदा रहेको दृश्यता अवस्था, सञ्चार प्रक्रिया, रनवे सतहको स्थिति तथा अन्य वातावरणीय पक्षबारे पनि जानकारी मागेको थियो।
तर, एक साताभित्र जानकारी दिन भनिए पनि नेपाल एयरलाइन्सले ती विवरण उपलब्ध गराएन। सञ्चालन विभाग र सुरक्षा कार्यालयका जिम्मेवार अधिकारीहरूले नेपालमा निर्वाचनका कारण व्यस्त रहेको भन्दै मार्च १० मा प्रस्ताव गरिएको बैठकमा उपस्थित हुन अस्वीकार गरेको स्रोतको दाबी छ।
यसपछि मार्च ९ मा चार बुँदे चेतावनी दिँदै नेपाल एयरलाइन्सको निष्क्रियता अस्वीकार्य भएको जनाएको छ, ग्वान्झाउ बैठकमा उपस्थित हुन भनिएको छ ।

स्रोतका अनुसार क्याप्टेन उद्धव घिमिरे विगतमा विभिन्न सुरक्षा सम्बन्धी घटनामा मुछिएका पाइलट हुन् र उनीमाथि सुरक्षा प्रोटोकल उल्लंघन आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीसमेत गरिसकेको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता बिक्रम राज गौतमले घटनाका बारेमा आफुहरुलाई औपचारिक रुपमा जानकारी नआएको बताउनु भयो ।
उहाँले न्यूजपोलारसंग भन्नुभयो “यो दुई कम्पनी बिचको कुरा हो , नेपाल नेपाल एयरलाइन्स र चिनिया पक्ष र सम्बन्धित पाईलटले औपचारिक रुपमा जानकारी नगराएपछि के कसो भएको हो भनेर बुझ्ने प्रयास गरिहेका छौ ।”
उहाँले भन्नुभयो “सम्बन्धित अपरेटरले औपचारिक जानकारी गराउनु भएको छैन भने कतिपय अबस्थामा कारबाही नगर्ने प्रतिबद्धता समेत जनाईएको हुन्छ । के भएको हो पूर्ण बिबरण आएपछि बल्ल कुनै निर्णय होला ।”
सामान्यतया विदेशी नागरिक उड्डयन प्राधिकरणले कुनै एयरलाइन्ससँग सुरक्षा विषयमा प्रश्न उठाउनु दुर्लभ मानिन्छ र यस्तो कदम गम्भीर सुरक्षा त्रुटि देखिएमा मात्र उठाइने बताइन्छ।











