२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा युवा लहरः ३५ वर्षमुनिका २३ सांसद निर्वाचित



अ+ अ-

काठमाडौँ  । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा यसपटकको चुनावले नेपाली राजनीतिमा नयाँ पुस्ताको उल्लेखनीय प्रवेश गराएको देखिएको छ। अधिकांश निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अझै जारी छ।

यसपटकको निर्वाचनमा विशेषगरी ३५ वर्षमुनिका युवाहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। लामो समयदेखि पुराना नेताहरूको प्रभाव रहेको संसद्मा अब नयाँ पुस्ताको उपस्थिति उल्लेखनीय रूपमा बढ्ने देखिएको छ। यसले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मात्रै ३५ वर्षमुनिका २० जना उम्मेदवार प्रत्यक्ष निर्वाचनबाट विजयी भएका छन्। यसैगरी नेपाली कांग्रेसबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक तथा श्रम संस्कृति पार्टीबाट एक जना गरी कुल २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन्।

यसपटक निर्वाचित हुने युवा सांसदमध्ये सबैभन्दा चर्चित नाम ३० वर्षीया सोविता गौतम हुन्। दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी गौतम चितवन–३ बाट ५९ हजार २७७ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन्। गौतम ३० वर्षको उमेरमै दोस्रोपटक प्रतिनिधिसभा सदस्य बन्न सफल भका यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौँ–२ बाट निर्वाचित हुनुभएको थियो। कानुन विषयमा स्नातक गरेकी गौतम पेशाले अधिवक्ता छन्।

त्यस्तै २८ वर्षीय सुलभ खरेल पनि कम उमेरमै सांसद बन्न सफल भएका छन् । बुटवलमा जन्मिएका खरेल रूपन्देही–२ बाट ५६ हजार ५५० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको थियो। नेपाल ल क्याम्पसबाट बिए–एलएलबी अध्ययन गर्नुभएका खरेल कानुन व्यवसायसँग पनि जोडिएका थिए ।

मोरङ–६ बाट रास्वपाकी उम्मेदवार रुविना आचार्य पनि विजयी भएकी छन्। विराटनगरमा जन्मिएकी आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२ हजार ८५० मत ल्याएका थिए ।

काभ्रेपलाञ्चोक–२ बाट रास्वपाका उम्मेदवार बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएका छन् । भुम्लु गाउँपालिका–२ मा जन्मिनुभएका ३३ वर्षीय भण्डारी ई–कमर्स व्यवसायी तथा मिडियाकर्मीसमेत छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका थिए ।

त्यस्तै झापा–१ बाट २९ वर्षीया निशा डाँगी विजयी भएकी छन् । उनले ४५ हजार ६८० मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याएका थिए। डाँगी यसअघि २०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद बन्नुभएको थियो। सामाजिक कार्यमा स्नातक तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गरेकी उनी युवा पुस्तामाझ परिचित छन् ।

नवलपुर–२ बाट २६ वर्षीय मनीष खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत प्राप्त गरेका थिए। खनालले नेपाल ल क्याम्पसबाट कानुन विषय अध्ययन गरेका छन् ।

सिरहा–१ बाट २८ वर्षीय बब्लु गुप्ता पनि विजयी भएका छन् । उनले ४१ हजार ३२२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७७४ मत ल्याएका थिए। सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातक तहसम्म अध्ययन गरेका छन् ।

यसैगरी रास्वपाबाट मोरङ–४ बाट ३४ वर्षीय सन्तोष राजवंशी, सिराहा–२ बाट ३० वर्षीय शिवशंकर यादव, सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव, महोत्तरी–२ बाट ३४ वर्षीय दीपककुमार साह र महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा पनि निर्वाचित भएका छन् ।

काठमाडौँ–५ बाट रास्वपाका २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भएका छन् । कानुन विषयमा स्नातक गरेका पोखरेल रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता छन्। उनले काठमाडौँ महानगरपालिकामा सह–विशेषज्ञका रूपमा काम गर्नुका साथै महानगर प्रमुख बालेन्द्र शाहका सल्लाहकारका रूपमा पनि काम गरिसकेका छन् ।

मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित भएका छन्र्। पर्यटन उद्यमीका रूपमा परिचित उप्रेतीले पर्यटन व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।

गुल्मी–१ बाट ३४ वर्षीय सागर ढकाल, बाग्लुङ–२ बाट ३४ वर्षीय सोम शर्मा, स्याङ्जा–२ बाट झविलाल डुम्रे, सप्तरी–२ बाट ३० वर्षीय रामजी यादव तथा कैलाली–२ बाट २६ वर्षीय केपी खनाल पनि निर्वाचित भएका छन् । केपी खनाल सामाजिक अभियानमा सक्रिय व्यक्तिका रूपमा परिचित छन्।

यसैगरी प्युठान–१ बाट ३१ वर्षीय सुशान्त वैदिक तथा काठमाडौँ–१ बाट ३० वर्षीया रञ्जु न्यौपाने (दर्शना) पनि निर्वाचित भएका छन् ।

अन्य दलबाट पनि केही युवा उम्मेदवार निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट विजयी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला–१ मा ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित भएका छन् भने श्रम संस्कृति पार्टीबाट खोटाङ–१ मा २९ वर्षीय आरेन राई विजयी भएका छन् ।

यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रभाव बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ। युवा सांसदहरूले संसद्मा प्रवेशसँगै जनताले राखेका अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने विषय अबको महत्वपूर्ण प्रश्न बनेको छ।