काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनाएर परिचालन गरिने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । होर्डिङ बोर्ड हटाउने निर्णय लगत्तै आज शुक्रबारबाट नै यसलाई शुरु गर्ने भएको हो ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सरोकारवाला समेतको सहभागितामा भएको बैठकले सहरको सौन्दर्य बढाउनका लागि होर्डिङ बोर्ड हटाउन तत्कालै शुरु गर्ने निर्णय गरिएको जानकारी दिएको हो । ‘मन्त्रीज्यूकै नेतृत्वमा छलफल भएको हो, महानगरका मेयरसहित सरोकारवाला सबै हुनुहुन्थ्यो,’ प्रवक्ता शर्माले भने ।
महानगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण, नेपाल टेलिकमको प्रतिनिधि रहने गरी कार्यदल बनाइने र त्यो कार्यदललाई ४ वटामा विभाजित गरी काम शुरु गर्ने प्रवक्ता शर्माले बताए ।