२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनः सुशीलाको साहसमा लोकतन्त्रको विजय



अ+ अ-

काठमाडौँ: सुशीला कार्की सरकारले शपथ लिएको गत भदौ २७ गतेको दिन सम्झिँदा त यो सरकारले आजको दिन देख्ला जस्तो पनि थिएन । अर्थात् तत्कालीन समयमा सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलले जसरी निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिएका थिए, तत्कालको द्वन्द्वको आगो निभाउनका लागि निर्वाचन नामको पासा फालिएको जस्तो लागेको थियो । अनि मानिसहरुका पनि त्यस्तै प्रतिक्रिया थिए कि यो सरकारबाट र यही परिस्थितिबाट चुनाव नै हुँदैन ।

सरकार आफैँ पनि धरमर त थियो नै, र भन्ने गर्दथ्यो— खरानीमा उभिएर खोइ के गर्न सकिएला र ? त्यसैमा पनि मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कुटिएका थिए र दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासबाट हेलिकोप्टर चढेर भाग्नुपरेको थियो । यी दुवैका घरमा आगो लगाएर खरानी बनाइएको थियो । अनि यी दुवै जनाका पार्टी चुनावमा आएनन् भने कसका लागि चुनाव गर्ने ? कस्तो चुनाव गर्ने ?

यस्तै यस्तै परिस्थितिबाट अघि बढ्यो सरकार तर तोकिएकै मितिमा चुनाव सम्पन्न हुन्छ भन्न छोडेन । सरकारले त्यसो भनिरहँदा यता पुराना र ठूला राजनीतिक दल र आम सर्वसाधारण चुनाव हुन नसक्ने तर्क गर्दै थिए । त्यस्तो तर्क ६ महिना अघि मात्र होइन कि ६ दिन अघिसम्म पनि गरिरहेकै थिए । चुनाव हाललाई स्थगित भएको या सारिएको समाचार फागुनको २० वरपर अकस्मात सार्वजनिक भयो भने पनि अचम्म नमाने हुन्छ भन्नेहरु हिजो अस्तिसम्मै तर्क गर्दै थिए ।

भदौ २३ गते मुलुकमा अकस्मात भड्किएको जेनजी आन्दोलन र त्यसको भोलिपल्ट मुलुकभर लागेको आगोमाथि बसेर सरकारले निर्वाचनको प्रक्रिया थालनी गरेकै हो । त्यसपछि पनि जेजति भनाई एवं प्रतिक्रिया र त्यसमाथिका क्रियाहरु आए त्यसलाई धैर्यताका साथ सरकारले आजका दिनसम्म ल्याएर आयो र आज निर्वाचन सम्पन्न हुने अवस्था आयो । अहिले हामीले यो अवस्थाको रिपोर्टिङ सहज छ भनेर गरिरहेको भए पनि जेनजी आन्दोलन लगत्तैको परिस्थिति आजको भन्दा नितान्त भिन्न थियो । तर पनि उता मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरबारमा आगो पुत्ताइरहँदा नै सरकारले चुनावको चुनावी काम थालेको बताएको थियो । आज त्यो सत्य रहेछ भन्ने लाग्यो किनभने सरकारले भनेजस्तै गरी निर्वाचन तोकिएको समयमै र शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले एकमात्र चुनावी एजेण्डा दिएर प्रधानमन्त्री बनाउँदै गर्दा सुशीला कार्की एक प्रकारको अन्योलपूर्ण अवस्थामै थिइन् । त्यस समयको अवस्था हेर्दा उनी पनि जेनजी विद्रोही र विद्रोहको पक्षमा उभिनुपर्ने अवस्था प्रकट हुन्थ्यो । उनलाई राष्ट्रपतिले आवश्यकताको सिद्धान्तको फेरो लगाएर प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यतिबेला देशमा राज्यविहीनताको परिस्थिति मात्र थिएन, समाज र दलहरु समेत विभाजित थिए । यहाँसम्म कि त्यतिबेला नेपाली सेनाकै भूमिकामाथि पनि कयौंले प्रश्न उठाएको अवस्था थियो । यो परिस्थितिलाई सम्हाल्न सुशिला कार्की र उनको नेतृत्व सक्षम देखिएको छ । त्यो कुरालाई आज सम्पन्न निर्वाचनले पनि प्रमाणित नै गरेको छ ।

कुनै पनि देशमा लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन एकमात्र सर्त हो । सरकारमा लोकतान्त्रिक आचरणमा कमी आउन नदिन जनताले निर्वाचित गरेको सरकारले नै शासन गर्न पाउनुपर्छ । दुनियाँमा विद्यमान लोकतन्त्रको मान्यता पनि यही हो । लोकतन्त्रलाई जीवन भर्न आवश्यक पर्ने तत्व नै निर्वाचन हो । विश्वका बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्था भएका लोकतान्त्रिक राज्यमा स्वीकारिएको मत र विधि निर्वाचन नै हो । सायद प्रधानन्यायाधीश भइसकेको व्यक्तिले नेतृत्व गरेर पनि हुनसक्छ यो मान्यताले पूर्णता पाएको छ र आजको निर्वाचन सम्भव भएको छ ।

यसका लागि प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिनै पर्दछ । त्यो दिनलाई आजको दिनसम्म ल्याएर देशका सबै राजनीतिक दलहरुले सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्न गराउन उहाँको साहस र उहाँका सारथिका रुपमा रहेका गृहमन्त्री ओमप्रकाश अर्यालको नम्रता र धैर्यताले पनि धेरै काम दिएको छ । त्यसैले यसरी भन्न सकिन्छ कि सुशीला कार्कीको साहसमा लोकतन्त्रले विजय हासिल गरेको छ । र, यसले लिकबाट बाहिरिएको अवस्थामा रहेको संविधानलाई पुनःबहाली गर्न आगामी दिनमा सहयोग पनि पुगेको छ ।