२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तनको आशा बोकेर मतदाताको मतदान



अ+ अ-

काठमाडौँ । परिवर्तनको आशा बोकेर मतदाताहरूले मतदान गरिरहेका छन् । डिल्लीबजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रमा पुगेका वृद्धवृद्धादेखि युवासम्मले देशमा सुधार र सुशासनको अपेक्षा गर्दै आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

सोही मतदान केन्द्रबाट मतदान गरेर फर्किएकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरियो भन्ने ठ्याक्कै सम्झना नभए पनि विगतका धेरै चुनावमा मत दिएको बताइन्। उनका अनुसार विगतमा धेरै नेताहरू जनतासँग विभिन्न वाचा गर्दै निर्वाचित भए पनि ती वाचा पूरा हुन सकेनन् । कतिपय त चुनाव जितेपछि जनतामाझ फर्केर समेत नआएको उनको गुनासो छ ।

“अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,” उनले भनिन्, “हामीले दुःख पाए पनि अबको पुस्ताले दुःख नपाओस् भन्ने चाहना छ ।”रेग्मीका अनुसार देशमै रोजगारीको राम्रो वातावरण बन्न सके युवापुस्ता विदेशिन बाध्य हुने थिएनन् । उनकी नातिनी पनि विदेशमा रहेको बताउँदै उनले देशमै अवसर भए किन विदेश बस्नुपर्थ्यो भन्ने प्रश्न उठाइन् ।उता, डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले विगतलाई पूर्ण रूपमा निराशाजनक मान्न नहुने धारणा व्यक्त गरे। उनका अनुसार देशमा केही काम भने भएको छ, तर जनताको अपेक्षाअनुसार पर्याप्त प्रगति हुन सकेको छैन ।

“धेरै पटक मतदान गरियो, केही पनि भएन भन्न मिल्दैन,” उनले भने, “तर जनताले जति अपेक्षा गरेका छन्, त्यति काम भने भएको छैन ।” धितालले अहिले देशमा सुशासन र रोजगारी सिर्जना प्रमुख आवश्यकता रहेको बताए।

विशेषगरी नयाँ पुस्ता, विशेषतः ‘जेनजी’ को अपेक्षा सम्बोधन गर्न सके मात्रै देशको भविष्य बलियो हुने उनको भनाइ छ । जेनजी आन्दोलनपछि सिर्जिएको विशेष राजनीतिक परिस्थितिमा आज प्रतिनिधिसभाको निर्वाचन भइरहेका बेला मतदाताहरूले परिवर्तनको अपेक्षा गर्दै मतदान गरिरहेका छन् ।