११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
फाइल फोटो
अ अ+ अ-

अर्घाखाँची। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा मन्त्री लम्सालले पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो ।

मन्त्री लम्सालले कालोपत्र गर्न बाँकी रहेका सडकखण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडकखण्डको निर्माणलाई समेत अगाडि बढाइने जानकारी दिनुभयो ।

लामो समयदेखि निर्माणको प्रक्रियामा रहेको सडक आयोजना पश्चिम नेपालका विभिन्न जिल्लालाई जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको मन्त्री लम्सालको भनाइ छ । सडक निर्माण सम्पन्न भएपछि अर्घाखाँचीसहित गुल्मी, पाल्पा, बागलुङलगायत जिल्लाका नागरिकलाई आवागमनमा सहजता पुग्ने तथा ढोरपाटनसम्मको पहुँच थप सहज बन्ने अपेक्षा गरिएको छ । उहाँले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनीसमेत दिनुभयो ।

सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने यो सडकलाई रणनीतिक महत्त्वको सडकका रूपमा हेरिएको छ । १९७ किलोमिटर लामो यस मार्गले हिमाल र तराईलाई जोड्ने छोटो दूरीको विकल्प उपलब्ध गराउने भएकाले पर्यटन, व्यापार, कृषि, सेवा र रोजगारीका दृष्टिले यसको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना आर्थिक वर्ष २०६६/६७ मा स्थापना भएको हो । आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा १८ किलोमिटर मात्रै कालोपत्र सम्पन्न भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा थप ४.५ किलोमिटर र आर्थिक वर्ष २०८२/८३ मा थप २४ किलोमिटर सडक कालोपत्र गरिएको छ । यससँगै हालसम्म ४६.५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

सहज पूर्वाधारको पहुँच सुनिश्चित गर्न आग्रह

अर्घाखाँचीको समग्र विकास र नागरिकलाई सहज पूर्वाधारको पहुँच सुनिश्चित गर्न सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पूर्वाधार विकासमन्त्री लम्सालसमक्ष विभिन्न माग प्रस्तुत गर्नुभएको छ ।

जिल्लामा निर्माणाधीन तथा योजनाका रूपमा रहेका सडक, बजार व्यवस्थापन र विमानस्थल निर्माणलाई गति दिन आवश्यक बजेट तथा व्यवस्थापन गर्न माग गर्दै नगरप्रमुख श्रेष्ठले भौतिक पूर्वाधार विकासमन्त्री लम्साललाई  लिखित आग्रह गर्नुभएको हो  ।

जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएका आयोजनाहरू लामो समयदेखि विभिन्न कारणले प्रभावित भइरहेका बेला नगरप्रमुख श्रेष्ठले ती आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री लम्साल र पूर्वाधार विकास मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देलको ध्यानाकर्षण गराउनुभयो । उहाँले सन्धिखर्क बजार क्षेत्रको व्यवस्थापनदेखि रणनीतिक सडक आयोजना र अर्घा भगवती विमानस्थल निर्माणसम्मका विषयलाई समेटेर आवश्यक बजेट विनियोजन तथा व्यवस्थापन गर्न आग्रह गर्नुभयो  ।

बजार क्षेत्रमा व्यवस्थित पार्किङको व्यवस्था नहुँदा सवारी आवागमनमा समस्या हुने तथा पैदलयात्रुलाई समेत कठिनाइ हुने गरेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको उहाँको भनाइ छ । अर्घाखाँचीलाई तराई तथा महेन्द्र राजमार्गसँग जोड्ने महत्तवपूर्ण सडकका रूपमा रहेको गोरुसिङ्गे–सन्धिखर्क सडक आयोजनाका लागि विनियोजित बजेट पर्याप्त नभएको नगरप्रमुख श्रेष्ठले राखेको मागमा उल्लेख छ ।

जिल्लाको  महत्त्वपूर्ण आयोजना सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा पर्याप्त बजेट नहुँदा द्रुत गतिका साथ काम अगाडि बढ्न नसकेकाले पर्याप्त बजेटको माग छ । सडक निर्माणका क्रममा पर्ने घर तथा भवन हटाउनुपर्ने अवस्था रहेको भन्दै प्रभावित नागरिकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेे माग छ ।  मुआब्जा तथा क्षतिपूर्तिको उचित व्यवस्था गरेर मात्रै सडक निर्माणलाई तीव्रता दिन सकिने भएकाले सरकारले आवश्यक रकमको व्यवस्था गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकअन्तर्गत ढुङ्ग्रेखोला–सालझण्डी सडकखण्डको समेत नयाँ ठेक्का प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । अर्घाखाँची जिल्लाको सिमानाअन्तर्गत  सालझण्डीतर्फको ठेक्का रद्द भइसकेकाले सो क्षेत्रमा नयाँ ‘टेन्डर’ प्रक्रिया सुरु गरी निर्माणलाई निरन्तरता दिनुपर्ने मागमा उल्लेख छ ।

नगरप्रमुख श्रेष्ठले जिल्लाको दीर्घकालीन विकास र यातायात पहुँचसँग जोडिएको अर्घा भगवती विमानस्थल निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने,  विमानस्थल निर्माणमा हालसम्म करिब रु ३० करोड खर्च भइसकेको भए पनि आयोजना अझै अधुरो रहेको भन्दै बाँकी पूर्वाधार निर्माण तथा धावनमार्ग (रनवे) निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्नुभयो ।

अर्घाखाँचीमा विमानस्थल सञ्चालनमा आएमा जिल्लाको पर्यटन, कृषि, व्यापार तथा आपत्कालीन यातायातमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैले निर्माण सुरु भएको लामो समयपछि पनि आयोजना अधुरो अवस्थामा रहन नदिन सङ्घीय सरकारले आवश्यक बजेट सुनिश्चित गर्नुपर्ने नगरप्रमुख श्रेष्ठको धारणा छ । रासस