काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र व्यवस्थापनका क्रममा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूको निधन भएको घटनाप्रति निर्वाचन आयोगले दुःख व्यक्त गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यक्षेत्रमा खटिएका राष्ट्रसेवकहरूको निधनले आयोगलाई स्तब्ध बनाएको बताएका हुन् ।
मतदान प्रक्रियाको तयारीका सिलसिलामा देशका विभिन्न भागमा केही दुःखद् घटनाहरू भएका उहाँले बताए । उनकाअनुसार रामेछाप जिल्लामा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको सवारी साधन दुर्घटनामा पर्दा सुरक्षाकर्मी र मतदान अधिकृतको ज्यान गएको छ ।
त्यसैगरी, आफ्नो कार्यक्षेत्रमै अहोरात्र खटिएको अवस्थामा सर्लाही र मुस्ताङ जिल्लामा मतदान अधिकृतहरूको निधन भएको छ भने कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीले ज्यान गुमाएका छन् । लोकतान्त्रिक महायज्ञलाई सफल पार्न आफ्नो ज्यानको बाजी लगाएर कर्तव्य पालन गर्ने क्रममा उनीहरूको निधन भएको उनले बताए ।
निर्वाचन सामग्री ढुवानी र व्यवस्थापनका क्रममा भएका दुर्घटनामा परी घाइते भएका सम्पूर्ण कर्मचारी तथा सुरक्षाकर्मीहरूको स्वास्थ्य लाभको कामना समेत आयोगले गरेको छ ।
विषम परिस्थिति र कठिन भूगोलका बाबजुद पनि राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायले देखाएको समर्पणले नै निर्वाचन सम्भव भएको भन्दै उनीहरूको योगदानको आयोगले उच्च मूल्यांकन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।











