२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौन अवधिमा झुठा प्रचारप्रति नेकपाको आपत्ति, नक्कली भिडियो हटाउन माग



अ+ अ-

काठमाडाैँ । निर्वाचनको मौन अवधिमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो पार्टी र तारा चिन्हबाहक उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत झुठा तथा भ्रामक सामग्री प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले विज्ञप्ति जारी गर्दै पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना तथा हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

उनका अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आवाज जस्तै सुनिने गरी बनाइएका नक्कली भिडियोहरू सामाजिक सञ्जालमा फैलाइएको छ। यस्ता सामग्री हटाउन र रोक्न पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनको गुनासो छ।

पार्टीले देशलाई अस्थिर बनाउने, युवामाथि हिंसा भड्काउने तथा राष्ट्रिय अस्तित्वमै खतरा उत्पन्न गर्ने शक्तिहरू नै यस्ता दुस्प्रचारमा संलग्न रहेको आरोप लगाएको छ।

यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिमाथिको प्रत्यक्ष आक्रमण भएको पार्टीको ठहर छ।

विज्ञप्तिमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक तथा अपुष्ट सामग्री देखिएमा सम्बन्धित प्लेटफर्ममा तुरुन्त ‘रिपोर्ट’ गर्न अपिल गरिएको छ। सनसनीपूर्ण र प्रमाणविहीन सामग्रीप्रति सजग रहन पनि आग्रह गरिएको छ।

सचिव पुनले सत्य र तथ्यमा आधारित जानकारी, मतदाताको सचेत पहल तथा जिम्मेवार नागरिक भूमिकाबाट मात्र यस्ता भ्रमपूर्ण प्रचारलाई परास्त गर्न सकिने उल्लेख गर्दै पार्टीका समर्थक तथा शुभेच्छुकलाई झुठा प्रचारको तत्काल प्रतिवाद गर्न र सधैँ सत्य तथा न्यायको पक्षमा उभिन आह्वान गरेका छन्।