२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्ध चर्कियो, क्षेत्रभरि विस्फोट र धम्की



अ+ अ-

पेरिस। अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि सुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ ।

इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरूमा आक्रमण जारी राख्दै अमेरिका र इजरायलविरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छ भने विभिन्न देशहरूमा विस्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेको छ ।

मङ्गलबार तेहरानमा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले जनाएका छन्, यद्यपि के लक्ष्य थियो भन्ने तत्काल स्पष्ट भएको छैन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्समक्ष युद्ध रोक्न पहल गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले परिषद्ले चाहेमा तत्काल कदम चाल्न सक्ने बताउनुभयो ।

यसैबीच, इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलविरुद्ध थप कडा आक्रमण गर्ने चेतावनी दिएको छ । प्रवक्ता अली मोहम्मद नैनीले राज्य टेलिभिजनमार्फत ‘शत्रुले निरन्तर दण्डात्मक कारबाही भोग्नुपर्ने’ र ‘नरकको ढोका झन् खुल्दै जाने’ चेतावनी दिनुभयो ।

इजरायलले दक्षिण लेबनानमा रणनीतिक स्थानहरू नियन्त्रणमा लिन सेना अघि बढाएको छ । लेबनानी सैन्य स्रोतका अनुसार कफर किला र खियाम क्षेत्रतर्फ इजरायली सेना अघि बढेको छ । इजरायली प्रवक्ता एफी डेफ्रिनले आफ्ना बासिन्दा र सम्भावित खतराबीच ‘बफर जोन’ बनाउने उद्देश्य रहेको बताउनुभयो ।

खाडी क्षेत्रमा पनि तनाव चुलिएको छ । बहराइनको मनामा र कतारको दोहामा विस्फोट सुनिएको छ । ओमान, युएई र इराकमा ड्रोन आक्रमण भएका छन् । युएईको फुजैराहस्थित तेल क्षेत्रमा ड्रोनको भग्नावशेष खसेर आगलागी भएको छ भने ओमानको बन्दरगाहमा इन्धन ट्याङ्कीमा क्षति पुगेको जनाइएको छ, यद्यपि मानवीय क्षति नभएको बताइएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार भई आगलागी भएको र साउदी विदेश मन्त्रालयले उक्त घटनाको निन्दा गरेको छ ।

तेहरानले आफ्नो प्रमुख आणविक स्थल नातान्जमा क्षति पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले उपग्रह तस्वीरका आधारमा भूमिगत संरचनामा क्षति देखिएको जनाएको छ, तर रेडियोलोजिकल असर नहुने बताएको छ ।

यस युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा अवरुद्ध भएपछि ब्रेन्ट क्रुडको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ८५.१२ डलर पुगेको छ । यो जुलाई २०२४ पछिको उच्च स्तर हो । ऊर्जा र अमेरिकी डलरमा लगानी बढेपछि सुन चार प्रतिशतभन्दा बढी घटेर ५,०७५ डलर प्रति औँस र चाँदी १२ प्रतिशतभन्दा बढी घटेर ७८ डलर प्रति औँसमा झरेको छ ।

इरान रेड क्रिसेन्टका अनुसार युद्ध सुरु भएयता ७८० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । लेबनानमा कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरले बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भन्दै अमेरिका–बेलायत सम्बन्ध ‘पहिले जस्तो नरहेको’ टिप्पणी गर्नुभएको छ । यसबीच फ्रान्सले संयुक्त अरब इमिरेट्समा आफ्ना राफेल लडाकू जेट तैनाथ गरेको छ ।

चीनले सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न र होर्मुज जलडमरूमध्यको सुरक्षा कायम राख्न आग्रह गरेको छ । युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषण गरिएको छ ।(रासस/एएफपी)