२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा निर्वाचन: देशभर तयारी सुदृढ, अधिकांश जिल्लामा शान्तिपूर्ण वातावरण



बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्राङ्गणमा प्रतिनिधिसभा सदस्य निर्वाचन बाँके क्षेत्र नम्बर २ का लागि मतदान गर्न मतदान स्थल निर्माणको तयारी गरिँदै । तस्बिरः रूपनी जि एम-रासस
अ+ अ-

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा विभिन्न प्रदेश र जिल्लामा गरिएको स्थलगत अवलोकनले समग्र निर्वाचन तयारी प्रशासनिक तथा सुरक्षात्मक दृष्टिले सन्तोषजनक रहेको देखाएको छ।

नेपाल कानून समाज र आम निर्वाचन पर्यवेक्षण समिति (जिओक)ले गरेको पूर्व–निर्वाचन अवलोकन प्रतिबेदन अनुसार निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको देखिएको छ।

यद्यपि आचारसंहिताको पूर्ण पालना, निर्वाचन खर्चको निगरानी, लैङ्गिक समावेशिता प्रवर्द्धन तथा संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापनमा थप सतर्कता आवश्यक रहेको पनि प्रतिबेदनमा औँल्याइएको छ।

साथै राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदातालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

पूर्व–निर्वाचन अवलोकन कुन स्थानमा कस्तो छ अबस्था

कोशी प्रदेश

कोशी प्रदेशमा प्रतिनिधि सभाका लागि कुल २८ निर्वाचन क्षेत्र रहेका छन् । यस निर्वाचनमा ४९५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये ४३६ पुरुष, ५८ महिला र १ जना अन्य छन्। महिलाको उम्मेदवारी करिब ११.७ प्रतिशतमा सीमित हुनु लैङ्गिक समावेशिताको दृष्टिले अझै सुधार आवश्यक रहेको संकेत हो ।

प्रदेशमा कुल ३५,७४,३१० मतदाता दर्ता भएका छन्। निर्वाचन सञ्चालनका लागि १,९०७ मतदान स्थल र ४,२७० मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्रहरूको भौतिक तथा प्राविधिक तयारी सन्तोषजनक अवस्थामा रहेको हाम्रो अवलोकनले देखाएको छ। आवश्यक निर्वाचन सामग्री वितरण प्रक्रिया सुचारु रहेको छ, सुरक्षा संयन्त्रबीच समन्वय प्रभावकारी देखिएको छ।

यस पटकको निर्वाचनमा प्रचार–प्रसारको शैलीमा परिवर्तन देखिएको छ । ठुला सभा र जुलुसको सट्टा घरदैलो अभियानलाई प्राथमिकता दिइएको छ । यद्यपि कतिपय स्थानमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू देखिएकाले सम्बन्धित निकायले थप सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । साथै, जातीय तथा सामुदायिक पहिचानमा आधारित राजनीतिक ध्रुवीकरण बढ्ने संकेत पनि देखिएको छ, जसले वैचारिक बहसलाई ओझेलमा पार्ने जोखिम रहन्छ ।

मोरङ, इलाम र झापा जिल्लामा गरिएको अवलोकनअनुसार हालसम्म कुनै ठुलो हिंसात्मक घटना देखिएको छैन। विशेषगरी झापा जिल्लामा प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायबीचको समन्वय सुदृढ देखिएको छ , तयारी उच्च स्तरमा रहेको छ ।

समग्रमा कोशी प्रदेशको निर्वाचन तयारी प्रशासनिक तथा प्राविधिक रूपमा सुदृढ, व्यवस्थित देखिएको छ । मतदाताको उत्साह र युवाको सक्रिय सहभागिता लोकतान्त्रिक प्रक्रियाका लागि सकारात्मक संकेत हुन् । तथापि, निर्वाचन आचारसंहिताको पूर्ण पालना, लैङ्गिक समावेशिता प्रवद्र्धन तथा शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाले थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यक छ ।

मधेश प्रदेश (धनुषा र महोत्तरी)

अनुगमनका क्रममा दुवै जिल्लामा समग्र चुनावी वातावरण शान्त र सामान्य रहेको पाइयो। हालसम्म कुनै ठूलो झडप, हिंसात्मक गतिविधि वा गम्भीर सुरक्षा चुनौती देखिएको छैन। सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय कायम रहेको छ र आवश्यक स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालित छन्। सीमावर्ती क्षेत्र भएकाले भारतसँग समन्वय गरी ७२ घण्टा सीमा सिल गर्ने तयारी गरिएको छ।

तयारीको अवस्था

धनुषा जिल्लामा कुल ५,१४,५७१ मतदाता रहेका छन् भने ३२२ मतदान स्थल र ६४५ मतदान केन्द्र तोकिएका छन्। चार वटा निर्वाचन क्षेत्र रहेका छन्। मतदान अधिकृत तथा कर्मचारीको नियुक्ति, तालिम तथा सामग्री वितरण प्रक्रिया सम्पन्न भइसकेको छ।

महोत्तरी जिल्लामा ४ लाखभन्दा बढी मतदाता रहेका छन् र २५८ मतदान स्थल तथा ५३६ मतदान केन्द्र तोकिएका छन्। कर्मचारी तालिम सम्पन्न भएको छ र मतदान अधिकृतहरूलाई जिम्मेवारी तोकिएको छ। केही स्थानमा मतदान केन्द्रको भौतिक तयारी ढिला देखिए पनि अधिकांश केन्द्र विद्यालय भवनहरूमा व्यवस्थित गरिएको पाइयो।

आचारसंहिता पालन

मनोनयन दर्तादेखि नै आचारसंहिता उल्लङ्घनका केही घटनाहरू देखिएका छन्, विशेषगरी बाजागाजा सहितको प्रदर्शन, पोस्टर–पम्प्लेट टाँस्ने र अनधिकृत प्रचारका विषयमा। दुवै जिल्लामा ठूलो संख्यामा पोस्टर, ब्यानर तथा प्रचार सामग्री हटाइएको जानकारी प्राप्त भयो। हालसम्म लिखित र मौखिक उजुरीहरू दर्ता भएका छन्, जसमध्ये अधिकांश सम्बोधन भइसकेका छन्।

केही उम्मेदवारहरूले अत्यधिक खर्च भएको आरोप लगाएका छन् भने निर्वाचन खर्चको निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। प्रत्यक्ष अनलाइन रिपोर्टिङ प्रणाली कार्यान्वयनमा रहेको जानकारी प्राप्त भएको छ।

सुरक्षा अवस्था

सुरक्षा निकायका अनुसार एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ। प्रत्येक पालिकामा मोबाइल सुरक्षा टोली परिचालन गरिएको छ। लुटिएका हतियारहरू फिर्ता भइसकेका भए पनि दुरुपयोगको सम्भावनालाई ध्यानमा राखी सतर्कता बढाइएको छ। सामाजिक सञ्जालको प्रभावका कारण कुनै पनि घटना तत्काल सार्वजनिक हुने भएकाले सबै पक्ष थप जिम्मेवार बनेको देखिएको छ।

राजनीतिक तथा नागरिक प्रतिक्रिया

राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण रहेको बताइएको छ। पत्रकार महासंघ तथा स्थानीय नागरिक समाजले अघिल्लो निर्वाचनको तुलनामा यस पटक वातावरण अपेक्षाकृत सभ्य र व्यवस्थित भएको टिप्पणी गरेका छन्। मतदाता शिक्षामा वडा तहमा स्वयंसेवकमार्फत प्रयास भए पनि पर्याप्त नभएको प्रतिक्रिया प्राप्त भएको छ।

समग्रमा मधेश प्रदेशको धनुषा र महोत्तरी जिल्लामा निर्वाचन तयारी प्रशासनिक र सुरक्षात्मक दृष्टिले सन्तोषजनक रहेको देखिएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्चको निगरानी तथा सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई निरन्तर कडाइका साथ लागू गर्न आवश्यक देखिन्छ।

चितवन र मकवानपुर 

प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी समग्रमा व्यवस्थित, समन्वित र शान्तिपूर्ण वातावरणमा अघि बढिरहेको पाइएको छ।

दुवै जिल्लामा मतदान केन्द्रहरूको भौतिक तयारी सन्तोषजनक रहेको, अधिकांश केन्द्रहरू विद्यालय तथा वडा कार्यालयमा व्यवस्थित रूपमा स्थापना गरिएको तथा निर्वाचन र सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम रहेको देखिएको छ। राजनीतिक दलहरू संयमित र मर्यादित ढंगले प्रचार–प्रसारमा संलग्न रहेका छन् र हालसम्म कुनै हिंसात्मक घटना वा गम्भीर अवरोध देखिएको छैन। प्रशासन, निर्वाचन अधिकारी, सुरक्षा संयन्त्र र राजनीतिक दलबीच निरन्तर संवाद र समन्वय कायम रहनु सकारात्मक पक्षका रूपमा देखिएको छ।

यद्यपि पहाडी तथा तराई भौगोलिक मिश्रण, केही मतदान केन्द्रमा पहुँच सम्बन्धी चुनौती, मतदान पश्चात् मतपेटिका ढुवानी र सुरक्षा व्यवस्थापनजस्ता विषयहरू संवेदनशील पक्षका रूपमा पहिचान भएका छन्। साथै निर्वाचन प्रक्रिया, आचारसंहिता कार्यान्वयन तथा सुरक्षा निकायको निष्पक्षताप्रति उठ्ने सम्भावित गुनासोलाई समयमै सम्बोधन गर्नु आवश्यक देखिन्छ।

समग्रमा अवलोकन अवधिसम्मको अवस्था हेर्दा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको निष्कर्ष निकालिएको छ, तथापि पहिचान गरिएका चुनौतीहरूको प्रभावकारी व्यवस्थापन अपरिहार्य देखिन्छ।

लुम्बिनी प्रदेश – रुपन्देही जिल्ला

रुपन्देही जिल्लामा ५ निर्वाचन क्षेत्र रहेका छन्। कुल मतदाता संख्या ६,७२,५२३ रहेको छ, जसमध्ये महिला ३,२६,३११, पुरुष ३,४६,२०३ र अन्य ९ जना रहेका छन्। जिल्लामा २०९ मतदान स्थल र ८७२ मतदान केन्द्र ९४ अस्थायी सहित० तोकिएका छन्। करिब ४,५०० कर्मचारी तथा करिब १०,००० सुरक्षा कर्मी परिचालन गरिएको जानकारी प्राप्त भएको छ।

तयारीको अवस्था

निर्वाचन सामग्री तयारी अवस्थामा रहेको र मतदान अधिकृतहरूलाई जिम्मेवारी हस्तान्तरण प्रक्रिया सुरु भइसकेको छ। मतदान स्थलहरूमा निर्धारित समयअनुसार सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिने व्यवस्था गरिएको छ। नयाँ मतदाता परिचयपत्र उपलब्ध नभएकाले वैकल्पिक परिचयपत्रलाई मान्यता दिने व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ।

चुनावी वातावरण

जिल्लाभर चुनावी वातावरण शान्त र सामान्य देखिएको छ। प्रचार–प्रसार मर्यादित र संयमित ढंगले भइरहेको छ। अत्यधिक पोस्टर, पम्प्लेट तथा झण्डाको प्रयोग नगरी सीमित साधनबाट प्रचार गरिएको पाइयो। राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि आपसी सम्बन्ध सौहार्दपूर्ण रहेको देखिएको छ। हालसम्म कुनै हिंसात्मक घटना वा निर्वाचन बिथोल्ने गतिविधि देखिएको छैन।

आचारसंहिता पालन

निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक देखिएको छ। गम्भीर प्रकृतिका उजुरीहरू प्राप्त भएका छैनन्। आयोगद्वारा लागू गरिएको कडाइ तथा प्रचार–प्रसारमा गरिएको नियन्त्रणलाई अधिकांश उम्मेदवारहरूले सम्मान गरेको पाइयो।

समग्रमा रुपन्देही जिल्लामा निर्वाचनपूर्वको तयारी प्रशासनिक तथा सुरक्षात्मक दृष्टिले सन्तोषजनक रहेको छ। मतदातामा कुनै डर–त्रास देखिएको छैन र वातावरण शान्तिपूर्ण रहेको छ। तथापि निर्वाचन स्वभावत: संवेदनशील प्रक्रिया भएकाले सम्बन्धित सबै निकाय, राजनीतिक दल, उम्मेदवार तथा नागरिक समाजले संयमता, सतर्कता र जिम्मेवारी कायम राख्नु आवश्यक छ।

सुर्खेत र दैलेख 

स्थलगत अवलोकनका आधारमा सुर्खेत र दैलेख जिल्लामा निर्वाचन तयारी समग्रमा प्रशासनिक तथा सुरक्षात्मक दृष्टिले सन्तोषजनक रहेको निष्कर्ष निकालिएको छ।

दुवै जिल्लामा मतदान केन्द्रहरूको भौतिक तयारी समयमै अघि बढाइएको, आवश्यक निर्वाचन सामग्री उपलब्ध गराइएको तथा कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा परिचालन गरिएको पाइयो। प्रत्येक बुथमा महिला प्रहरीको व्यवस्था गरिएको र संवेदनशीलताका आधारमा सुरक्षा संयन्त्र (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना) परिचालन गरिएको देखिएको छ। हालसम्म कुनै हिंसात्मक घटना वा निर्वाचन बिथोल्ने गतिविधि देखिएको छैन।

यद्यपि दुवै जिल्लामा भौगोलिक विकटता प्रमुख चुनौतीका रूपमा देखिएको छ, जसका कारण यातायात र पहुँचमा कठिनाइ हुन सक्ने जोखिम छ। सुर्खेतमा २० अति संवेदनशील तथा दैलेखमा ४६ अति संवेदनशील मतदान केन्द्र रहेको तथ्यले निरन्तर सुरक्षा सतर्कताको आवश्यकता औंल्याउँछ। साथै केही मतदान केन्द्र विद्यालय भवनको संरचनागत अवस्थाका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदाताका लागि असहज हुन सक्ने अवस्था देखिएको छ।

समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित देखिए पनि संवेदनशील क्षेत्र, भौगोलिक चुनौती तथा कर्मचारी व्यवस्थापनका विषयमा निरन्तर निगरानी र सुधारात्मक पहल आवश्यक देखिन्छ।