१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्सिङ स्वर्ण विजेता पुरस्कृत



अ+ अ-

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीलाई पुरस्कृत गरिएको छ । युके बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता ३ खेलाडीलाई सम्मान गरिएको हो । नेपाल बक्सिङ संघको सहयोगमा कार्यक्रमको संयोजन वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केले गरेका थिए । बस्नेतले मास्के मार्फत नै पुरस्कार रकम पाठाएका हुन् । सागको बक्सिङ २ पुरुष र १ महिला खेलाडीले नेपाललाई स्वर्ण दिलाएका थिए ।

पुरुष ६० केजीमा सनिल शाही र ६४ केजीमा भुपेन्द्र थापाले स्वर्ण जितेका थिए । महिला ५४ केजीमा मिनु गुरुङले स्वर्ण जितेकी थिइन् । खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरियो । सोही अवसरमा बक्सिङका रजत र कांस्य विजेतालाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले खेलाडीलाई पुरस्कृत गरे ।

सो अवसरमा सदस्य-सचिव सिलवालले पुरस्कार राशीलाई सानो/ठूलो भनेर तुलना गुर्न भन्दा पनि खेलाडीलाई सम्झनु मुख्य कुरा भएको धारणा व्यक्त गरे । ‘पुरस्कार राशी सानो होस् वा ठूलो । त्यसको मतलब हुन्न । विदेशमा बसेर पनि आफ्नो लगाव भएको खेलका पदक खेलाडीलाई बस्नेतजी (कुश) ले सम्झिए। त्यो महत्वपूर्ण कुरा हो ।’ सदस्य-सचिव सिलवालले भने, ‘विदेशमा बस्ने थुप्रै पूर्व खेलाडीहरु हुनुहुन्छ । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने हो भने पुरस्कार राशी पनि ठूलै हुन्छ ।’

सदस्य-सचिव सिलवालले खेलाडीले पाउनु पर्ने सागको पुरस्कार चाँडै दिन आफूले पहल गरिरहेको जानकारी दिए। बक्सिङ संघका अध्यक्ष अवालेले खेलाडीलाई पुरस्कार प्रदान गरेकोमा बस्नेतलाई धन्यवाद दिदै बक्सिङका रजत र कांस्य विजेतालाई पनि चाँडै पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए ।