काठमाडौं । नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा सेनाले एकीकृत सुरक्षा योजना–२०७९ अनुसार सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४” तथा “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०७९” बमोजिम सञ्चालन भइरहेका छन्। मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने व्यवस्था मिलाइएको जनाएको छ।
त्यस्तै, विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि नेपाली सेनाले मतदान केन्द्रको बाहिरी घेरामा सुरक्षा प्रदान गर्नुका साथै देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी र सुरक्षा व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने जनाएको छ। निर्वाचन सम्पन्न भएपछि संयुक्त टोलीमार्फत मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याइने व्यवस्था गरिएको सेनाले स्पष्ट पारेको छ।
नेपाली सेनाले सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई शान्ति, सुरक्षा र संयमता कायम राखी निर्वाचन प्रक्रिया सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।











