२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक पहुँचसँगै लसुनखेतीमा आकर्षित



अ+ अ-

भोजपुर। टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यतिबेला व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुनखेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो ।

ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।

मझौलेकी किसान विजया लुइँटेलले हाल करिब दुई रोपनी क्षेत्रफलमा लसुनखेती गरिरहनुभएको छ । सडक पहुँच सहज भएसँगै व्यापारी गाउँमै पुगेर लसुन सङ्कलन गर्न थालेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ छ ।

“पहिले उत्पादन बिक्री गर्न बजारसम्म लैजान कठिन हुन्थ्यो, अहिले सडक पुगेपछि व्यापारी घरमै आउँछन्, मूल्य पनि राम्रो पाइन्छ”, लुइँटेलले भन्नुभयो । उहाँका अनुसार गत वर्ष लसुन प्रति किलो रु २०० सम्ममा घरबाटै बिक्री भएको थियो । उत्पादन लागत तुलनात्मक रूपमा कम र बजार मूल्य आकर्षक भएकाले राम्रो आम्दानी लिन सकिएको थियो ।

“गाउँमा धेरै किसान व्यावसायिक रूपमा लसुनखेतीमा जुटेका छन्”, उहाँले भन्नुभयो, “मैले पनि विस्तारै क्षेत्रफल बढाउँदै लगेकी छु ।”

स्थानीय किसानका अनुसार मझौलेको माटो र हावापानी लसुनखेतीका लागि उपयुक्त छ । राम्रो उत्पादन हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले पनि लसुनखेती सुरक्षित बालीका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो समय छिमेकी बजार तथा जिल्ला बाहिरबाट पनि माग आउन थालेको किसानको भनाइ छ ।

मनग्य आम्दानी लिन सकिने भएकाले साना किसानका लागि पनि लसुनखेती लाभदायक बन्दै गएको छ । परम्परागत अन्नबालीको तुलनामा नगदे बालीतर्फ आकर्षण बढ्दै जाँदा गाउँको आर्थिक गतिविधिमासमेत सकारात्मक प्रभाव परेको देखिन्छ । स्थानीय तहले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ व्यवस्थापन तथा प्राविधिक सहयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ । सडक पूर्वाधार विस्तार र बजार पहुँच सुनिश्चितताले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको जनाइएको छ ।

यसरी पूर्वाधार विकाससँगै कृषिमा व्यावसायिक सोच विस्तार हुँदै जाँदा मझौलेका किसान आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।

लसुनखेतीबाट प्राप्त आम्दानीले घरपरिवारको दैनिकी सुधार्नुका साथै ग्रामीण क्षेत्रमा बसाइँसराइ रोक्न पनि सहयोग पुग्ने उनीहरुको विश्वास छ ।