१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतारा क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । चौतारा नगरपालिका महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भक्तपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै चौतारा समूह ए बाट क्वाटरफाइनलमा पुगेको हो । चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ को सेटमा पराजित गर्यो । जितसँगै चौताराले २ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट ४ अंक जोडेको ललितपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दुई खेलमा पराजित भक्तपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । पुरुषतर्फ नै महालक्ष्मी नगरपालिका र पनौती नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह सी बाट महालक्ष्मी समूह विजेता र पनौती उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट टोखा बाहिरिएको छ । पुरुषकै समूह डी मा कमलामाई नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार कमलामाईले गोदावरीलाई २५–१३, २५–१८ / २५–१८ को सेटमा पराजित गर्यो । यस्तै गोकर्णेश्वरले धुलिखेललाई २५–२३, २५–१४ र २५–१९ को सेटमा हराएको छ ।

चार टिम रहेको यस समूहमा कमलामाईको ६ अंक रहेको छ । गोदावरी र गोकर्णेश्वरको ३र३ अंक रहदा धुलिखेल अंक विहीन रहेको छ । महिलातर्फ चन्द्रागिरीले बनेपालाई २५–७, २५–९ / २५–५ को सेटमा हराएको छ । जितसंगै समूह ए को चन्द्रागिरीले ३ अंक जोडेको छ । यस समूहमा ललितपुरको पनि ३ अंक रहेको छ । बनेपाले अंक जोड्न सकेको छैन । महिलातर्फ नै गोकर्णेश्वरले हेटौडालाई २५–१६, २५–११ / २५–२२ ले हराएर दोस्रो जित निकालेको छ । यस्तै विदुरले टोखालाई २५–२२, २५–५, २३–२५ २५–९ ले हराएको छ ।

यस समूह बी मा गोकर्णेश्वरको ६ अंक रहेको छ । हेटौडा र विदुरको ३/३ अंक रहदा टोखाले अंक जोड्न सकेको छैन । ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् । यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।