• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

१२२ चिनियाँलाई नेपालमा चार वर्ष प्रतिबन्ध, चार्टर विमानबाट चीन फर्काइँदै



काठमाडौं । राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चार वर्ष नेपाल आउन प्रतिबन्ध लगाइएको छ । पर्यटक भिसा दुरुपयोग गरेको, संदिग्ध गतिविधि र राहदानीबिनै बसेको आरोपमा उनीहरूलाई अध्यागमन विभागले चार वर्षको प्रतिवन्ध लगाएको हो । ७ पुसमा बूढानीलकण्ठ, बालाजुलगायतका क्षेत्रबाट पक्राउ परेकालाई बुधबार स्वदेश फिर्ता पठाइने भएको छ । त्यसका लागि नेपालस्थित चिनियाँ दूतावासले समेत आवश्यक सबै प्रक्रिया पूरा गरेको छ ।

अनुसन्धानपछि मंगलबार विभागले १ सय २२ जनालाई नै अध्यागमन ऐनको दफा ९ को उपदफा १ (क) अनुसार चार वर्ष नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ । जसमा महानिर्देशकले सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी निष्कासन गर्न सक्ने उल्लेख छ । यसैगरी ८८ जनालाई जनही एक हजार रुपैयाँ र ३४ जनालाई जनही दुई हजारका दरले जरिवाना लगाइएको छ । ‘चिनियाँ नागरिकलाई पर्यटक भिसा दुरुपयोग, संदिग्ध गतिविधि र राहदानीबिनै बसेको आरोपमा दोषी देखाउँदै ४ वर्षका लागि निष्कासन गर्ने निर्णय भएको छ,’ अध्यागमन स्रोतले भन्यो ।

भिसा र राहदानी नभएकाहरूका लागि आवश्यक कागजपत्र चिनियाँ दूतावासमार्फत् प्राप्त भएको र उनीहरूलाई नेपालको अध्यागमन ऐनअनुसार कारबाही प्रक्रिया पूरा गरिएको विभागले जनाएको छ । पक्राउ परेकामध्ये ९१ जनासँग राहदानी नै छैन । उनीहरूलाई बुधबार साँझ चीन फिर्ता पठाइने तयारी रहेको अधिकारीहरू बताउँछन् । विमानस्थल स्रोतका अनुसार चिनले चार्टर गरेको विमान बुधबार अपराह्न तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।

वायुसेवा कम्पनी चाइना इस्टर्नले एउटा चार्टर विमान अवतरणका लागि नागरिक उडड्यन प्राधिकरणसँग अनुमति माग गरेको छ । प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीका अनुसार अपरान्ह तीन बजे विमानस्थलमा अवतरण गरेर साँझ ६ बजे फर्कने समय सो विमानलाई दिएको जानकारी दिए । ‘विमान केका लागि आउन लागेको हो भन्ने कुरा त थाहा भएन, तर चाइना इस्टर्नले चार्टर्ड फ्लाइट गर्ने अनुमति लिएको छ’, उनले भने ।

सुरुआती जानकारीअनुसार दुई वटा विमान काठमाडौं आउने बताइए पनि मंगलबारसम्म १३२ सिट क्षमताको विमानले मात्र उडान अनुमति मागेको छ । विमान छोटो समयमै फर्किने हुँदा विमानका चालकदलका सदस्यहरू विमानबाट ओर्लिने सम्भावना कम भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । यता, विभाग स्रोतले दिएको जानकारीअनुसार चाइना इस्टर्नमा ४२ जना बुधबार साँझ ७ बजेर १५ मिनेटमा तथा ८० जना चाइना साउदर्नबाट पौने ८ बजे चीन फिर्ता हुँदैछन् । नेपालमा बसेर चीनमा अनलाइन जुवा, बैंकिङ कसुर कारोबारमा संलग्न उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।

प्रहरीको लापरबाहीका कारण संगठित गिरोहका नाइके भने उम्किन सफल भएका छन् । यद्यपि उनीहरूको खोजी भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रशासन काठमाडौंले भने जनही १/१ हजार जरिवाना गरेर छाड्न आदेश गरेको थियो । सो आदेशलगत्तै प्रहरीले सबैलाई अध्यागमन विभागको जिम्मा लगाइएको थियो । पक्राउ परेका चिनियाँ नागरिकहरूले नेपालको अध्यागमन कानुनको मात्रै उल्लंघन गरेको हुँदा उनीहरूलाई नेपालमै कारबाही गर्ने आधार नरहेको प्रहरीको भनाइ छ ।

तोकिएको समयभन्दा बढी बसेको वा पर्यटक भिसा लिएर अन्य काममा लागेको देखिएकाले उनीहरूलाई अध्यागमनको जिम्मा लगाइएको प्रहरीको तर्क छ । नेपालको अध्यागमनसम्बन्धी कानुनको अवज्ञा गरेको अभियोगमा विभागले सन् २०१९ मा मात्र ६ सय ४० जनालाई नेपालबाट फिर्ता पठाएको थियो । सौर्य दैनिकबाट