१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति

हजार वर्ष पुरानो गाउँमा सय वर्ष पुरानो मेला

हजार वर्ष पुरानो गाउँमा सय वर्ष पुरानो मेला
अ अ+ अ-

पोखरा । नेपालमा मेला महोत्सवको रौनक तातिएको धेरै वर्ष भएको छैन । पछिल्ला वर्ष ठाउँठाउँको प्रवद्र्धन र विकासका लागि मेला महोत्सव लगाउने क्रम बढ्दै गएको छ । झट्ट सुन्दा अचम्म लाग्छ, झण्डै एक हजार वर्ष पुरानो कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सय वर्ष पुरानो माघे सङ्क्रान्ति मेलालाई स्थानीय युवाको सक्रियतामा जीवन्त बनाइएको छ ।

प्रचलित संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गराउँदै यसका मौलिकता जोगाउने उद्देश्यले सय वर्षभन्दा बढी समयदेखि अस्तित्वमा रहेको माघे सङ्क्रान्ति मेलालाई स्थानीय सिक्लेस युवा क्लबले निरन्तरता दिँदै आएको क्लबका सल्लाहकार देवीजङ्ग गुरुङले जानकारी दिनुभयो ।

“सय वर्षयता स्थानीयवासीले केही न केही रूपमा मेलालाई निरन्तरता दिँदै आएका थिए,” उहाँले भन्नुभयो, “पछिल्ला २५ वर्षयता स्थानीय सिक्लेस युवा क्लबको सक्रियतामा मेलालाई अघि बढाइएको छ ।”

मेलाका सम्बन्धमा छुट्टै मौलिक कहानी एवं प्रचलन छ । यहाँका दुई महत्वपूर्ण धार्मिक तीर्थस्थल म्हउदु र फैमक्युमा प्रत्येक वर्ष पुसको अन्तिम दिन स्थानीयवासी जुटेर सरसफाइ गर्दछन् । सरसफाइ गरेपछि म्हउदुमा उन नकाटेको भेडाको बलि दिइन्छ । बलि दिएपछि यहाँ मूल फुट्ने जनविश्वास छ ।

प्रचलनअनुसार मूल फुटेका तीर्थस्थलमा पुसको अन्तिम दिन रातको १२ बजेदेखि यहाँ स्नान गर्नेको भीड लाग्दछ । रातमा स्नान गरेका तीर्थालुले माघको १ गते सङ्क्रान्तिका दिन एक सयजना मानिसलाई हेरेमा मनले चिताएको पुग्ने जनविश्वासकै आधारमा एक सय वर्षपहिलादेखि सिक्लेसमा माघे सङ्क्रान्ति मेला लाग्ने गरेको स्थानीय बूढापाकाको तर्क छ ।

सिक्लेसमा लाग्ने माघे सङ्क्रान्ति मेलाको आफ्नै महत्व रहेको सिक्लेस पार्चे तमु समाज पोखराका अध्यक्ष सुवेदार रनबहादुर गुरुङले बताउनुभयो । प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँ सिक्लेसको प्रवद्र्धनका लागि पछिल्लो समयमा मेला बहुउपयोगी बन्दै गएको उहाँले बताउनुभयो ।

गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने ४५० घरधुरी रहेको यो गाउँ समुद्री सतहबाट दुई हजार मिटर उचाइमा छ । लमजुङ हिमालको काखमा लुट्पुटिएको यो गाउँ वरिपरिको हरियो वनजङ्गलका कारण पाइने चराचुरुङ्गी र वन्यजन्तुका कारण पर्यापर्यटनमा पनि उत्तिकै आकर्षक छ ।

यातायातका साधन हुँदै पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने यहाँ पुग्नासाथ ढुङ्गाले छाएको एवं छापिएको गुजमुज्ज तर अत्यन्त सफा र सुन्दर नमूना बस्तीले पर्यटकलाई यात्राको थकाइ बिर्साउने गरेको छ । स्थानीय जनताको जागरुकतासँगै सरसफाइमा चासो दिइएका कारण बाटाघाटा, घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको अर्को विशेषता हो ।

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवं विदेशी अनुसन्धाता पनि सिक्लेस पुग्ने गरेका छन् । गुरुङ संस्कृतिको अध्ययन, अवलोकन एवं अनुसन्धानका लागि यहाँस्थित सिक्लेस इको म्युजियम पनि उपयोगी बनेको छ ।

गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रूपमा झल्काउने सामग्री देख्न पाइने सङ्ग्रहालयमा गाउँ आसपासमा पाइने कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टिमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा पर्यटकले हेर्न तथा जानकारी लिन पाउँछन् ।

मौलिकतायुक्त यहाँका प्रकृति र संस्कृतिका साथै युगौँदेखि चल्दै आएको मेलालाई पछिल्ला पुस्तासम्म हस्तान्तरण गर्ने सोचका साथ क्लबले यस वर्ष पनि माघ १ देखि ४ गतेसम्म मेला गर्ने भएको मेला संयोजक एवं क्लबका सचिव बेलप्रसाद गुरुङले जानकारी दिनुभयो ।

मेलाका अवसरमा सिक्लेसका प्रकृति, संस्कृतिका साथै यहाँबाट नजीकै रहेको नेपालकै कम उचाइमा रहेको क्हफुचे हिमतालको समेत प्रचारप्रसार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

मेलाका अवसरमा लोपोन्मुख खेलहरू ह्याकुचे, छेलो हान्ने, घुर्रा घुमाइका साथै भलिबल, बास्केटबल, नृत्यलगायत विविध प्रतियोगितात्मक कार्यक्रम गर्न लागिएको छ ।

नेपाल सरकारद्वारा घोषित भ्रमण वर्ष २०२० का अवसरमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएका अवस्थामा सय वर्ष पुरानो मेलाले विशेष महत्व राख्ने विश्वास लिइएको छ ।
–