१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकरण प्रयोग गरेर जुट तयारी गर्न थालियो



अ+ अ-

सुनसरी। पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ ।

जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो ।

जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब उत्पादन बढाउनका लागि धेरै क्षेत्रफलमा लगाउन ठूला किसानलाई प्रोत्साहन गर्नुपर्ने हुँदा उपकरण प्रयोग गरेर सहज बनाउन थालिएको छ । भारत र बङ्गलादेशमा पनि उपकरणकै प्रयोग गर्ने गरिएको छ ।”

अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा सात हजार हाराहारी हेक्टरमा जुटखेती लगाउँदा दस हजार हाराहारी मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको बुलेटिनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सात हजार २२० हेक्टर क्षेत्रफलमा जुट लगाउँदा दस हजार २२० मेट्रिक टन जुट उत्पादन भएको छ ।

पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुटखेती हुने गर्छ । यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुटखेती हुने गर्छ ।

अहिले नेपालमा उत्पादन भएको जुटले यहाँका उद्योगका लागि १० देखि १५ प्रतिशतसम्म धान्ने गर्छ । बाँकी ८५ देखि ९० प्रतिशत उद्योगका लागि चाहिने कच्चापदार्थ भारत र बङ्गलादेशबाट ल्याउने गरिन्छ । देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले छ बन्द छन् । रासस