१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

‘श्वेत पर्वत’मा प्रकृति, संस्कृति र इतिहासका प्रशस्त विवरण

‘श्वेत पर्वत’मा प्रकृति, संस्कृति र इतिहासका प्रशस्त विवरण
अ अ+ अ-

काठमाडौँ । पत्रकारितासम्बन्धी दुई र यात्रा । नियात्राबारे यसअघि दुई कृति प्रकाशन गरिसक्नुभएका विष्णुप्रसाद शर्मा पराजुली भर्खरै ‘श्वेत पर्वत’(भुँडीपुराण प्रकाशन, २०७८) लिएर आउनुभएको छ ।  ‘तिब्बत यात्रा’ (२०७२), त्यसैको अङ्ग्रेजी अनुवाद ‘जर्नी टु तिबेत’(२०२२) र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’(२०७४) शीर्षकमा उहाँका मोटामोटा नियात्रा कृति आइसकेका हुन् । जागिरेकालमा विष्णु शर्मा हुँदा नै भ्रमण गर्न रुचाउने उहाँले यात्रासँगै  लेख्नुपर्छ भन्ने मान्यताले पछि पुस्तक लेख्न थाल्नुभएको हो । 

नेपालको ग्रेट हिमालयन ट्रेलअन्तर्गत पूर्व ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविरदेखि पश्चिममा हुम्लाको हिल्सासम्मका पदयात्राका क्रममा उहाँ नेपालका आठ हजारभन्दा माथिका आठ हिमालमध्ये छको आधारशिविर पुगिसक्नुभएको छ  । सतहत्तर जिल्ला नै टेक्ने दुर्लभ प्राणीमध्ये एक शर्माका  पछिल्लो कृतिमा धवलागिरि, अन्नपूर्ण, मुस्ताङ र मनाङ पदयात्राका अनुभूति तथा त्यससँग सम्बन्धित पर्याप्त भौगोलिक तथा ऐतिहासिक सूचना छन् । त्यस क्षेत्रका हिमाल र नदीनालाका साथै बहुल सङ्ख्यामा बसोबास गर्ने मगर, गुरुङ र थकाली जातिको रहनसहन, इतिहास र संस्कृतिबारे पनि प्रशस्त चर्चा गरिएको छ । आफ्नो यात्राका अनुभूतिका साथै घर फर्केपछि नियात्राकारले विभिन्न लेखकले लेखेका कृतिलाई उद्धृत गर्दै वा वेबसाइटमा झिकी तथ्यतथ्याङ्क पस्कनुभएको छ । नेपाल र नेपालीले बुझ्नैपर्ने हिमाली सभ्यता, जनजीवन, संस्कृति र प्राकृतिक संसाधनका चर्चा  गर्दै लेखक यात्राका बीचबीचमा सरकार र जनतालाई सुझाव दिनाका साथै आह्वान पनि गर्नुहुन्छ ।

लेखकले उच्च, साहसिक र कठिन पदमार्ग धवलागिरि परिक्रमा पदयात्रा विसं २०४३ को बडादसैँपछि २५ दिनमा सम्पन्न गर्नुभयो, जुन अहिले बढीमा १२ दिनमा गर्न सकिन्छ । स्याङ्जा, नाउडाँडाबाट सुरु गरी पोखरा फर्कनुभएका साहसी पदयात्री पराजुलीले हिमनदी र भन्ज्याङबाट आएको चिसो स्याँठ खाँदै मृत्युको छायाका साथ गरिएको ‘श्वेत पर्वत’ परिक्रमाका क्रममा देखिएका पर्वत, बागलुङ, म्याग्दीका रमणीय क्षेत्र,  कालीगण्डकी उपत्यकाको मिहिन वर्णन गर्नुभएको छ । ठमेलस्थित एक ट्रेकिङ कम्पनीमा काम गरेका बखत जर्मनीका डा वाल्टर लुडरसँग आफ्नै खर्चमा गरिएको सो पदयात्रा मुदी गाउँ, धवलागिरि उच्च आधार शिविर, फ्रेन्च धुरी, धम्पुस हुँदै सम्पन्न गर्न लाग्दा ओंठ, आँखा र मुख फुलेको–फुटेको, लेक लागेर मृत्युका मुखमा पुगेका बखत पाहुनाकै औषधिले बाँचेको कुरा लेखकले सुनाउनुभएको छ । यात्राका क्रममा बाटामा टुक्रुक्क बसे जस्तो एक मृतक आरोही पनि देख्नुभएका लेखकले उचाइ उक्लेर तल झरी बास नबस्दा गरेको गल्ती महसुस गरी अन्य पदयात्रीलाई सचेत पनि गराउनुभएको छ । दोस्रो देवचुली खण्डमा पदयात्राका क्रममा चर्चित पर्यटकीय क्षेत्र अन्नपूर्ण हिमशृङ्खलाको दक्षिणतर्फका रमणीय भिराला, पखेरा, नदी, वन–वनस्पति, झरना, चराचुरुङ्गी, आदिको वर्णन गरिएको छ । पोखराबाट लान्द्रुक, छोमरोङ, हिमालय होटेल हुँदै चौथो दिनमा नै आठ हजार एकानब्बे मिटर उचाइको अन्नपूर्णको आधार शिविर पुगी राम्रोसँग हिमाल र हिमनदीको अवलोकन गर्न सक्नुभएका लेखकले साथी हिरा महर्जनलाई यात्राका क्रममा लेक लाग्ने जस्तै समस्याबाट बचाउनुभएको थियो । “हिमालहरू रङ्गशाला होइनन् जहाँ गएर म मेरा चाहना पूरा गर्न सकूँ, ती त मन्दिर हुन् जहाँ म मेरो धर्मको अभ्यास गर्छु” भन्ने रुसी पर्वतारोही एनातोली बुखारिभलाई सम्झँदै उहाँले यहाँ हिमाल, तारा र चन्द्रमाको प्रेमलीला पनि देख्न सक्नुभयो । 

लेखकले विसं २०७४ असारमा आफ्नो निवास कपन क्षेत्रकै मित्रहरूसँग  ‘नेपालको ल्हासा’ मुस्ताङ भ्रमण गरी कृतिको तेस्रो खण्डमा मानव सभ्यता, इतिहास, हिन्दू र बौद्धधर्मका अति प्राचीन तीर्थस्थल, विविधतायुक्त भौगोलिक फैलावट, हजारौँ वर्ष पुराना गुफा र त्यहाँको जनजीवनलाई विस्तृत ढङ्गले कोट्याउनुभएको छ । ‘संसारकै सबैभन्दा सुन्दर’ कालीगण्डकी उपत्यका,  अतिसुन्दरी रुप्से झरना, गहिरो अन्धगल्छी तथा सातौँ र दशौँ अग्ला धवलागिरि र अन्नपूर्ण हिमाल क्षेत्रको भ्रमण गरेर पराजुली गौरवान्वित हुनुभएको छ । बोन, सनातनी हिन्दू र बौद्ध धर्मावलम्बीको बासस्थान यस क्षेत्र स्वदेशभन्दा विदेशमा  निकै चर्चित रहेको लेखकको अनुभूति छ । माथिल्लो मुस्ताङको ल्होमान्थाङ हुँदै दामोदर कुण्ड पुगी फर्केर मुक्तिनाथ दर्शन गर्नुुपूर्व रावणका हजुरबा पुलत्स्य, काका हजुरबा पुलह, जडभरत आदिले तपस्या गरेको मानिएको म्याग्दी बेनी क्षेत्रको उहाँले राम्रो वर्णन गर्नुभएको छ । सतीदेवीको गला खसेको गलेश्वर क्षेत्रमै  रावण जन्मेको प्रसङ्ग मिडियामा लेखिए पनि त्यो कुरा भने कृतिमा उल्लेख गरिएको छैन । नेपाल आउने पहिलो जापानी इकाइ कावागुची तिब्बत जानुपूर्व र सबैभन्दा पहिले आठ हजार मिटरमाथिको हिमाल चढ्ने फ्रान्सेली मौरिस हर्जोग यसै क्षेत्रको टुकुचेमा बसेको तथा भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसंभवले मुस्ताङमा धेरै समय बिताएको तथ्य पनि लेखकले ल्याउनुभएको छ । नीलगिरि र धवलागिरिको सुनौलो प्रतिछायाले अँगालो हालेको जोमसोम पुगेपछि त्यहाँको हावाको वर्णन नगर्ने र मार्फा पुगेपछि  स्याउको वर्णन नगर्ने कमै यात्रु होलान् जसमा पराजुली पनि थपिनुभएको छ । नजिकै सानो र आकर्षक  धुम्बा ताल तथा  थिनी र लुप्रा गाउँ नछुटाउन लेखक यात्रुले पाठकलाई सुझाव पनि दिनुभएको छ । जोमसोमबाट नजिक रहेको बोन, हिन्दू र बौद्ध धर्मावलम्बीको अत्यन्त महत्त्वपूर्ण तीर्थस्थल तथा  पितृ तर्पणस्थल कागबेनी वरपर नै ब्रह्मा, विष्णु, शिव, अन्य देवता, ऋषिगण, यक्ष, गन्धर्व र अप्सराको उपस्थितिमा यज्ञ गरिएको र त्यहीँ नै विष्णुको रूप शालिग्राम पाइने गरेको प्रसङ्ग उल्लेख गर्दैै लेखकले भारतीय तीर्थयात्रुले गयाभन्दा यसलाई ठूलो मान्ने गरेको र त्यहाँ श्राद्ध गरेपछि अन्त गर्नु नपर्ने जिकिर पनि गर्नुभएको छ । कागबेनी भएरै रेशममार्गभन्दा पहिलेदेखि नै उत्तरदक्षिण यात्रा हुने गरेको उहाँको भनाइ छ । शालग्राम क्षेत्र मुक्तिनाथ, पर्खालभित्रको सहर माथिल्लो मुस्ताङ र दामोदर कुण्ड क्षेत्रको सूक्ष्म बयानले पाठक सो ठाउँ पुग्न आफैँ हतारिन्छ । 

चौथो खण्डमा लेखक महाभारत युद्धपछि प्युठानको स्वर्गद्वारीमा यज्ञ गरी पाण्डवहरू त्यहीँबाट स्वर्ग गएको भनाइ विपरीत मनाङको पौङ्दी देउरालीबाट स्वर्ग गएको मान्नुहुन्छ। विश्वप्रसिद्ध थोराङ ला (भन्ज्याङ), विश्वकै सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा त्यहाँका प्रसिद्ध गाउँ नार र फुको ‘भगवान् भरोसा’का यात्राको वर्णन पनि यसमा परेको छ । तिलिचोलाई त लेखक शिवले काकभुुशुण्डीबाट रामकथा सुनेपछि र सतीदेवीले देह त्याग गरेपछि ध्यान गर्न आएको स्थान भनेर चित्रण गर्दै पाठकलाई सत्ययुगमा पुर्‍याइदिनुहुन्छ । 

आफ्नो यात्रा अनुभवका आधारमा हिमाललाई मानव सभ्यताको दश हजार वर्ष पुरानो बस्ती मान्ने लेखक पौराणिककालका वेदव्यास, पुलह, पुलत्स्य, कपिल, याज्ञवल्क्य, जनक, गार्गी नेपालको वर्तमान तराई र हिमाली भूमिकै हुन् भन्ने ठोकुवा पनि गर्नुहुन्छ। हिमाली क्षेत्रमा बोन, हिन्दू र बौद्ध सम्प्रदायको धार्मिक सहिष्णुताको राम्रो नमुना प्रस्तुत गर्नुभएका लेखकले आफूले जिकिर गरेका र अन्य पर्वतारोही वा लेखकका पुस्तक उद्धरण गरी दिएको अनौठा पौराणिक तथा ऐतिहासिक तथ्यप्रति भने आगामी अध्ययन–अनुृसन्धानका लागि सामग्री बन्न पुग्छन् । यात्राकै आधारमा उहाँ तिब्बती बौद्ध धर्म तिब्बतबाट नेपालको हिमाली क्षेत्रमा आयात नभई नेपालबाट तिब्बतमा पुगेको पनि स्पष्ट गर्नुहुन्छ । मनमोहक रङ्गीन तस्वीर र रेखाहरूले कृतिको गरिमा बढाएको छ । आफूले पदयात्रा गरेको ‘लुकेको स्वर्ग’का  मगर, थकाली र गुरुङ जातिको बाहुल्य रहेको उल्लेख गर्दै लेखकले तिनका घरको बनोट, इतिहास, धर्मसंस्कृति, वेशभूषा, जन्म, विवाह तथा मृत्यु संस्कार, चाडपर्व र पेसा–व्यवसाय पनि उल्लेख गरी मानव–समाजशास्त्रीय चिन्तन गर्नुभएको छ ।  

आफ्नो भनाइ पुष्टि गर्न बारम्बार एउटै तथ्यतथ्याङ्क र अनुभूति दोहोर्‍याइरहने लेखकको  बानी अघिल्ला कृतिमा थिए र प्रस्तुत  कृतिमा पनि छ, जसबाट कृतिको मोटाइ त बढ्यो नै, पाठकलाई झिँजो पनि लाग्न सक्छ । घर फर्केर अन्य पुस्तक र वेबसाइटबाट उद्धरण गरी लेखिएको कृतिलाई ‘नियात्रा’ भन्ने कि ‘यात्रा विवरण’, विधागत अलमल हुन्छ । कृतिमा प्रसङ्ग बाहिरका कुरा पनि धेरै परेका छन् । जे होस्, प्रशस्त विवरण र सुझाव कृतिमा दिइएकाले अन्य पछिल्ला यात्रु लाभान्वित हुनाका साथै सरकारलाई पनि काम गर्न केही मसला भने यसले दिन्छ । (रासस, श्याम रिमाल)