१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीर्थस्थल देवघाटमा तिर्थालुको घुइँचो



अ+ अ-

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तिर्थालु भक्तजनको घुइँचो लागेको छ । मङ्गलबार बिहान बेनीमा बाँसको लिङुगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसेका थिए । बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको छ । उनका अनुसार देशभर र भारतीय विभिन्न क्षेत्रबाट भक्तजन आउने क्रम जारी रहेको छ ।

Photo: THT/ File

मेलालाई व्यवस्थित गरिएकाले तिर्थालु भक्तजनले सहज रुपमा स्नान र पूजापाठ गर्न पाएको अध्यक्ष पौडेलले जानकारी दिए । देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कदा ती सवारीले आँपटारीको बाटो प्रयोग गरेका छन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले सो पुल प्रयोग गरेर आउने देवघाटसम्म नै सवारीसाधनमा आई पुगेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिए। यस्तै डुङ्गासहितको उद्धारका लागि नेपाली सेना पनि जुटेको छ । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रही आएको छ ।