१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा तीर्थालुको भीड



अ+ अ-

नवलपुर । धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढा–टाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै यहाँ आएका छन् ।

माघे सङ्क्रान्तिका दिनदेखि कुम्भ स्नानसमेत शुरु हुने कारणले देवघाटधाममा स्नानका लागि तीर्थालुको भीड लाग्ने गर्दछ । धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघे सङ्क्रान्ति स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

देवघाट आउने तीर्थालुलाई मध्यनजर गर्दै यहाँ पर्याप्त मात्रामा पानी, बत्ती तथा शौचालयको व्यवस्था गरिएको उहाँले बताउनुभयो । माघे सङ्क्रान्ति स्नानका लागि देवघाटधाममा धेरै भक्तजन आउने भएकाले व्यवस्थापनका लागि देवघाट क्षेत्र विकास समितिले करीब एक महिना अगाडिदेखि तयारी थालेको थियो । तीर्थालुलाई लक्षित गर्दै विभिन्न स्थानमा धुनी तथा निःशुल्करूपमा चियाको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।

स्थानीय प्रशासन, सरकारी निकाय, विभिन्न सङ्घसंस्था सबैको पहलमा देवघाट जाने बाटोघाटो निर्माणदेखि सुरक्षा व्यवस्था चुस्त बनाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । देवघाटको वेणी सङ्गमस्थलमा त्रिशूली नदीतर्फ गहिरो भएकाले यहाँ विशेष सावधानी अपनाउँदै काली गण्डकीतर्फ मात्रै नुहाउने व्यवस्था गरिएको घिमिरेले बताउनुभयो । स्नानघाटलाई सुरक्षित पार्नका लागि डोरीले सुरक्षा घेरा निर्माण गरिएको छ ।

चितवन र तनहुँ जोड्नका लागि देवघाटमा झोलुङ्गे पुल भएको भए पनि त्यहाँ अत्यधिक भीड हुने कारणले नदी तर्नका लागि ¥याफ्टिङ डुङ्गाको समेत व्यवस्था गरिएको छ । चितवनतर्फको किनारबाट देवघाटको वेणी सङ्गमस्थलसम्म पुग्नका लागि करीब ४० डुङ्गा सञ्चालन गरिएका घिमिरेले जानकारी दिनुभयो । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोर प्रहरी तथा नेपाली सेनाको उद्धार टोलीसमेत देवघाटमा परिचालन गरिएको छ ।