१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोर्डले थप अध्ययन गरेर मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने या नदिने भन्ने निर्णय गर्ने भएको छ ।

बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ एक्सचेन्ज ल्याउने भन्ने अध्ययनकै विषय रहेको बताउनुभएको हो । उहाँले बजारमा एक्सचेन्जको माग रहेको तर अर्को पक्षले दिन हुँदैन भन्ने तर्क गरिरहेकाले थप अध्ययनको आवस्यकता रहेको बताउनुभयो । उहाँले नेप्सेमा समय सापेक्ष सुधारको आवस्यकता रहेको समेत बताउनुभयो । अहिले रियलटाईममा कारोबार हुन नसकेको बताउँदै त्यस्तो कारोबारका लागि नेप्सेले पनि काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष ढुंगानाले कमोडिटिज एक्सचेन्जको संख्या तोकेर लाइसेन्स दिने भन्दा पनि आवश्यकता के हो त्यसको अध्ययन गरेर मात्र लाइसेन्स दिने बताउनुभएको हो । उहाँले वोर्डमा आवेदन दिएका कम्पनीहरुको मूल्याङ्कन नै नभएको अवस्थामा कतिवटा कमोडिटिज एक्सचेन्ज दिने भन्ने निर्णय नगरिएको समेत बताउनुभयो ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आर्थिक वर्ष २०७६÷२०७७ को अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै बोर्डले धितोपत्र बजारको सुधारका लागि प्रयाप्त काम गरिरहेको बताउनुभयो । उहाँले पूँजीगत लाभकारको गणनालाई थप सरल र सहज बनाउने क्रममा लगानीकर्ता स्वयंले सिडिएससिको वेबसाइटमार्फत आधार मूल्य प्रविष्ट गरी पेश गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले २१ धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबार गर्न अनुमति पाइसकेको र ३ वटाले कारोबार सुरु गरिसकेकाले बजार सुधारका प्रयासहरु सकारात्मक भएको बताउनुभयो ।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले प्रादेशिक ब्रोकरको लाइसेन्स दिने सम्बन्धमा अध्ययन भइराखेको जानकारी समेत दिनुभयो । उहाँले प्रादेशिक ब्रोकर दिन नेप्से सक्षम रहेको बताउँदै बोर्डले यस सम्बन्धी निर्णय छिट्टै लिने समेत बताउनुभयो ।

कार्यक्रममा पूँजी बजारमा देखिएका समस्याको समाधानका लागि नेपाल सरकारले गठन गरेको समितिले दिएको ५८ बुँदे सुझाव मध्ये ६८ प्रतिशत सुझावको कार्यान्वयन भइसकेको कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।