३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
अ+ अ-

भोजपुर । यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ ।

पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परागत पेसा पछिल्लो समय धातु पगाल्न आवश्यकपर्ने कोइलाको अभावका कारण सङ्कटमा पर्दै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म टक्सारमा सञ्चालनमा रहेका धातु उद्योगले लाखौँ रुपैयाँ मूल्य बराबरका सामग्री उत्पादन गर्दै आएका थिए ।

यहाँ उत्पादित कांसका भाँडाकुँडा तथा अन्य सामग्री जिल्लासँगै तराईका विभिन्न सहरमा पुग्ने गर्थे । तर, आवश्यक कोइला, कच्चापदार्थको अभाव, लागत वृद्धि र पेसाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा पछिल्लो समय टक्सार बजार क्रमशः सुनसान बन्दै गएको स्थानीयवासी विनोद ताम्राकारले बताउनुभयो ।

यहाँका घरेलु उद्योग सञ्चालकको सबैभन्दा ठूलो समस्या कोइला अभाव नै भएको उहाँको भनाइ छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला बजारमा सहज रूपमा नपाइने भएपछि आफैँले रुख काटेर कोइला बनाउनुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।

“कांसको काम सुरु गरेदेखि अन्त्यसम्म कोइला अनिवार्य पर्छ”, उहाँले भन्नुभयो, “अहिले कोइला पाउन निकै कठिन छ, कोइलाको अभावकै कारण धेरै कालीगढ पेसा छाड्न बाध्य भएका छन् ।”

दसकौँ अघि सयौँको सङ्ख्यामा सञ्चालनमा रहेका धातु उद्योग अहिले आएर पाँच वटामा मात्र सीमित भएका छन् । कोइला मात्र होइन, मैनलगायत अन्य स्थानीय कच्चापदार्थ पनि सहज रूपमा नपाउँदा पेसा धान्न झनै कठिन बन्दै गएको अर्का स्थानीय सुरजबहादुर उदासले बताउनुभयो ।

“कोइलाबिना कांसको काम सम्भव नै हुँदैन”, उहाँले भन्नुभयो, “कांस पगाल्न, मैन पगाल्न सबैमा कोइला चाहिन्छ, अहिलेको अवस्थामा कोइलाको कारणले पेसा जोगाउने कि छाड्ने भन्ने अवस्थामा पुगेका छौँ ।”

स्थानीयका अनुसार राणा तथा पञ्चायती शासनकालमा विशेष प्रसिद्धि कमाएको टक्सारको धातु उद्योगले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाएको थियो । तर, पछिल्लो समय स्थानीयवासीको पलायन, कच्चापदार्थको अभाव, आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र सरकारी सहयोगको कमीका कारण यो परम्परागत उद्योग क्रमशः धराशायी बन्दै गएको छ ।

स्थानीयवासीले टक्सारको ऐतिहासिक पहिचान जोगाउन कोइला आपूर्तिमा सहजीकरण, परम्परागत उद्योग प्रवद्र्धनका कार्यक्रम र कालीगढलाई लक्षित राहत तथा प्रोत्साहनका नीति आवश्यक रहेको बताउँदै आएका छन् । रासस