१० असार २०८३, बुधबार
,
Latest
अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफा र बुटिक विमानस्थल



अ+ अ-

एकराज पाठक, काठमाडौं । गत बिहीबार थाइल्याण्डबाट आउनुभएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेर्नुभयो । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उहाँको आँखा पुग्यो । “बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो”, उहाँले भन्नुभयो । “किन ?”, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोध्नुभयो । उहाँको जवाफ थियो, “हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरु देखियो, आफ्नै देश आएको महसुस भयो ।”

“आगमन कक्षको अगाडि राखिएको गैँडाको मूर्ति चितवनको सौराहा पार्कमा नै देखेजस्तो लाग्यो । अनि अलि परको गौतम बुद्धको मूर्तिले लुम्बिनी पुगेजस्तै भयो”, नेपाली यात्रु यसै भन्दै थिए, विदेशीहरु फोटो खिच्न खोज्दै थिए । भित्र आउँदै गर्दा कतै गरुडको मूर्ति छ भने भित्तामा नेपालको बहुजाति, बहुसंस्कृति र बहुधार्मिक परम्परा झल्किने विभिन्न प्रकारका मूर्ति र कलाकारिता देखिन्छन् ।

अर्का एकजना यात्रु भन्दै हुनुहुन्थ्यो, “मलाई त इन्डोनेशियाको बाली विमानस्थलको याद आयो । त्यहाँ पनि हिन्दू धर्मका साथै त्यहाँको बहुसांस्कृतिक अवस्थिति झल्किने विभिन्न मूर्ति तथा कलाकारिता राखिएका छन् ।” इन्डोनेशियाको बाली प्रान्तमा कम्तीमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी नागरिकको बस्ती छ । त्यहाँको विमानस्थलमा पनि स्थानीय परम्परा र सम्पदाहरु झल्किने दृश्यहरु सजाइएको छ ।

नेपालका केही प्रमुख पर्यटकीयस्थलको पहिचान दिनेगरी अरु केही तस्बिर विमानस्थलमा राखिएका छन् । यहाँका तस्बिरले विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालको हिमालय क्षेत्रको सम्पन्नताको परिचय दिन्छ । त्यस्तै यहाँका दृश्य र तस्बिरहरुले पोखरा, मुस्ताङ र यस्तै अन्य विश्वकै प्रमुख पर्यटन गन्तव्यको पनि यहाँबाट सामान्य परिचय दिने यत्न गरेका छन् ।

केही समयअघि नेपाल सरकारले घोषणा गरेको थियो ‘बुटिक एयरपोर्ट’ को अवधारणा । यही अवधारणाबमोजिम नै विमानस्थल प्रशासनले पनि यस्तो बुटिक विशेषताको प्रयास गरिरहेको छ । कुनै पनि विदेशी नागरिक नेपाल छिरेपछि यहाँको विविधताको बारेमा प्रवेशद्वारबाटै थाहा पाओस् भन्ने प्रयत्न हो यो भन्नुहुन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण ।

नेपालले यसवर्ष नेपाल भ्रमण वर्ष मनाइरहेकोले नेपाल आउने पर्यटकलाई नेपालबारेको जानकारी जति सकिन्छ प्रवेशद्वारबाटै प्रदान गरौँ भन्ने प्रयास गरिएको उहाँले बताउनुभयो । विमानस्थललाई बुटिक बनाउने मात्र नभई यहाँको सरसफाइ, सुरक्षा, सहयोग, यात्रुहरुलाई आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण र विकास तथा सूचनाजस्ता कार्यका लागि विमानस्थल प्रशासनले सक्दो प्रयास गरेको उहाँले जानकारी दिनुभयो ।

विमानस्थलको आगमन कक्षमा सुनको जलप हालिएको ११ फिट अग्लो र करिब एक टन तौल भएको बुद्ध मूर्ति राखिएको छ । त्यस्तै गरुड र अन्य देवी देवताका मूर्ति छन् । गैँडाको मूर्ति सौराहाको झलक नै दिनेगरी पार्क बनाएर राखिएको छ । यी संरचना विदेशी पर्यटकका लागि आकर्षण बनेका छन् ।

विमानस्थलको अर्को आकर्षण सरसफाइ पनि हो । यहाँको सरसफाइका लागि विमानस्थलले इनोभेटिभ एचआर जेभीलाई जिम्मा दिएको छ । उसले दुई वर्षभन्दा अघिदेखि विमानस्थलको सरसफाइको काम गरिरहेको छ । करिब डेढ वर्ष अघि गैरआवासीय नेपाली सङ्घको सहयोगमा खेम्स क्लिनिङले स्वयंसेवीरूपमा केही समय विमानस्थल सफाइ गरेर चर्चा पाएको थियो । त्यस समय पनि विमानस्थलको सफाइमा इनोभेटिभले सफाइ मजदूर र काममा सहयोग गरेको थियो ।

उक्त कम्पनीले विदेशी प्रविधि र मापदण्डको आधारमा सफाइको काम गर्दै आएको सोलुसनका प्रमुख रोहिणी भट्टराई बताउनुहुन्छ । “हामीले सफाइ कर्मचारीहरुलाई समय समयमा विदेशी मापदण्ड र प्रविधिको तालिम दिई त्यस्तै उपकरणका साथ काम गरिरहेका छौँ, हर समय सफाइको गुणस्तर बढाउँदै लगेका छौँ”, उहाँको भनाइ छ ।

हाल सफाइका लागि उक्त कम्पनीका १६० कर्मचारी खटिरहेका छन् र ‘सिफ्ट’ अनुसार चौबीसै घन्टा काम गर्ने गर्छन् । “कुनै पनि विदेशीले नेपाल टेक्ने पहिलो पाइला भनेको विमानस्थल नै हो । त्यसैले प्रवेशद्वारबाट नै विदेशीहरुमा हाम्रो देशप्रतिको राम्रो छाप परोस् भनेर हामी आफैँ काममा खटिएका छौँ र हामीले पाइरहेको सफलता र प्रशंसालाई घट्न दिएका छैनौँ”, उहाँ भन्नुहुन्छ ।

बुटिकका रूपमा गरिएको विमानस्थलको विकास र सरसफाइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यतिबेला स्वरूप फेरिएको छ । भुइँ, चर्पी, स्नानकक्ष, भित्ताहरु र कुर्सी सफा छन्, सफाइलाई विशेष ध्यान दिइएको छ । विमानस्थलको सफाइमा खटिरहेका कर्मचारी सफाइसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रविधि र मापदण्ड प्रयोग गरिएको भन्दै हाल उपलब्ध प्रविधि र जनशक्तिले विमानस्थलको अवस्था राम्रो राख्नसफल भएको बताउँछन् ।

नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थल सफा भए मात्र अन्तर्राष्ट्रियरूपमा देशको छवि सुन्दर र राम्रो बन्नेछ । त्यसैले विमानस्थलमात्र होइन कि पर्यटन वर्ष मनाइरहेका हामीले होटल, पार्क, पर्यटकीय स्थल तथा अन्य पूर्वाधार र संरचनाहरुलाई पनि सफा र सुन्दर बनाउनु र राख्नु जरुरी छ ।

नेपालले यस वर्ष कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्याका साथ नेपाल भ्रमण वर्ष मनाइरहेको छ । यसका लागि आवश्यक सेवा क्षेत्रको पूर्वाधार र अन्यत्र सरकारले सकेसम्म संरचना निर्माण गरिरहेको छ । त्यसैले अहिले नै विमानस्थलको जस्तै बुटिक र सफाइको अवधारणालाई पनि सबैतिर विस्तार गर्न सके पर्यटन वर्ष मनाइरहेको पर्यटन क्षेत्रले केही नयाँ उपलब्धि हासिल गर्नेछ ।

अर्को महत्वपूर्ण पक्ष भनेको सुरक्षाको प्रबन्ध पनि भएकाले यसलाई विमानस्थलले नयाँ व्यवस्थाका साथ अघि बढाएको प्रवक्ता कर्ण बताउनुहुन्छ । सुरक्षामा कडाइ तथा यात्रुको सुविधालाई समेत ध्यानमा राखी सुरक्षा जाँचमा नयाँ व्यवस्था गरेको उहाँको भनाइ छ ।