• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo

‘यातायातको सुविधा कहिले हुन्छ उपप्रमुखज्यु ?’



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको साढे दुई वर्ष हुँदा पनि पनि नगरपालिकामा सहज यातायात व्यवस्थापन गर्न सकेका छैनन् । दैनिक यहाँको जनसंख्या बढिरहेको छ । प्रदेश राजधानीमा विभिन्न सिलसिलामा बसोवास गर्नेहरू पनि दैनिक बढिरहेका छन् । यातायातका सजिलो माध्यमको रूपमा रहेको अटोरिक्साले सर्वसाधारणबाट मनपरी भाडा असुलिरहेको गुनासो आइरहेको छ । स्थानीयतहको निर्वाचनको समयमा यहाँका विभिन्न राजनीतिक दलहरूले वीरेन्द्रनगरमा नगर यातायातको व्यवस्थापन तथा फोहोर व्यवस्थापन मुख्य एजेन्डा बनाएका थिए ।

तर, अझैसम्म नगर यातायातको व्यवस्थापन गर्न नसकेकोमा नागरिकहरूले गुनासो गरेका छन् ।सोमबार तन्नेरी चासो सुर्खेतले सञ्चालन गरेको कर्णाली कचहरीमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई युवाहरूले प्रश्न गरे, ‘अटोरिक्साको मनपरी भाडा असुल्ने काम भइरहेको छ । नगरपालिकामा नगर यातायातको सुविधा कहिले हुन्छ उपप्रमुखज्यु ?’ वीरेन्द्रनगर–१ का विनोद न्यौपानेले उपप्रमुख ढकाललाई प्रश्न गरे, ‘बांगेसिमलबाट करिब तीन किलोमिटर यात्रा गरेर बजार आउन अटोरिक्सामा कम्तिमा ४० रपैयाँ तिर्नुपर्छ, नगर बस कहिले सञ्चालन हुन्छ र हामी सस्तो भाडामा आवतजावत गर्न पाउँछौँ रु’

अर्का युवा भरत गौतमले जनप्रतिनिधिहरूले आफ्नो एजेन्डामा राखेका मुद्दा फोहोर व्यवस्थापन गर्न नसक्दा सहर कुरुप जस्तै बनेको गुनासो गरे । ‘निर्वाचन ताका प्रायः सबै राजनीतिक दलको एजेन्डा फोहोर व्यवस्थापन र नगर यातायात बन्यो, तर अहिले केही चासो छैन् ।’ अर्का युवा यज्ञ खत्रीले सरकारले अनुदान वा ऋण दिँदा कृषिमा मात्रै नभई सूचना प्रविधिमा काम गर्न र सीप सिक्न चाहाने युवाहरूलाई ध्यान दिन आवश्यक रहेको बताए ।

यसबारे सोचिरहेका छौँः उपप्रमुख

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विकास भनेको पूर्वाधार मात्रै नभई उद्यमशीलता र अन्य विकास पनि महत्वपूर्ण हो भन्नेमा समाजको विचार परिवर्तन हुन आवश्यक रहेको बताइन् । उनले नगर यातायातको बारेमा आपूmहरूले योजना बनाइरहेको बताइन् । ‘अबको बजेट निर्माणमा हामीले यस्ता आवश्यकतालाई मध्यनजर अवश्य गर्नेछौँ’, उनले भनिन्, ‘हामीले अहिले बजेट तथा अनुदानलाई उत्पादनमुखी र सीपमूलक क्षेत्रमा खर्च गरिरहेका छौँ ।’

आफूले फिलिपिन्सको विकासको अवधारण अध्ययन गरेको उधृत गर्दै उपप्रमुख ढकालले सूचना प्रविधिको तालिम आवश्यक रहेको बताइन् । सूचना प्रविधिमा सक्षम भएपछि आफैँ सीप सिक्न इच्छुक हुने र स्वरोजगार हुने बताइन् । उनले स्थानीय तहमा बजेट फ्रिज हुने समस्या नभएको बताउँदै नगरपालिकाको अघिल्लो आर्थिक वर्षमा ९२ प्रतिशत बजेट खर्च भएको बताइन् ।

‘बजेट खर्चको क्षेत्रहरू आर्थिक, सामाजिक, वातावरण, विपत् र संस्थागत सुधारको क्षेत्र सबैमा ध्यान दिनुपर्छ ।’ उनले भनिन्, ‘हामीले पनि ध्यान दिएका छौँ । चालु आवमा नगरपालिकाले पेश्की बजेट दिएको छैन ।’ सौर्य दैनिकबाट