१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनका लागि दाङमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने



अ+ अ-

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । निर्वाचनलाई मध्येनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको हो ।

वर्गीकरणका आधारमा मतदानस्थलको सुरक्षाको प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा योजना–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

मुख्यगरी मतदान पूर्व, मतदान हुँदा र मतदानपछिको सुरक्षाबारे योजनाबद्ध काम थालिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । उहाँले विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या, जेनजी आन्दोलनपछिको अवस्थालगायत सुरक्षा विश्लेषण गरी जिल्लामा सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो ।

प्रजिअ अर्यालका अनुसार दाङमा १५९ मतदानस्थल र ४८२ मतदान केन्द्र रहेका छन् । तीमध्ये १३४ संवेदनशील, १६ अतिसंवेदनशील र नौ वटा सामान्य मतदानस्थल रहेका जनाउँदै सोही बमोजिम सुरक्षा व्यावस्था मिलाइएको बताउनुभयो ।

प्रजिअ अर्यालले भन्नुभयो, “त्यसैगरी गस्ती, पेट्रोलिङ, सूचना सङ्कलन, सामाजिक सञ्जालका सामग्री र भ्रामक समाचारको निगरानी थालिएको छ ।” उहाँका अनुसार निर्वाचनमा नेपाली सेनाका ६०९, सशस्त्र प्रहरीका ४६९, नेपाल प्रहरीका एक हजार ३८१, निर्वाचन प्रहरीअन्तर्गत नेपाल प्रहरीका दुई हजार ४१५ र सशस्त्र प्रहरीका ३०३ तीन गरी जिल्लामा पाँच हजार १७७ सुरक्षाकर्मी परिचालन हुनेछन् ।

चुनावी कार्यक्रम, उम्मेदवारको घरदैलो, मतदाता, मतदानस्थल, सहज मतदान र मतपेटिका र मतगणनास्थलको सुरक्षा गर्न सुरक्षा रणनीति तयार गरी लागू गरिएको छ जनउँदै प्रजिअ अर्यालले कतै एकल कतै संयुक्त सुरक्षा गस्ती भइरहेका उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दीपककुमार श्रेष्ठले निर्वाचनलाई मध्येनजर गरी जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ पारिएको बताउनुभयो । उहाँका अनुसार जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेल निर्माण गरी कार्यान्वय भइसकेका छन् ।

त्यसैगरी निर्वाचनमा खटिने निर्वाचन प्रहरीको नतिजा सार्वजनिक गरी प्रशिक्षणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । दाङमा कूल चार लाख ३१ हजार ६८७ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।