५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी बहिर्गमनको कारण ‘असत्य’ रहेको डब्ल्युएचओ प्रमुखको भनाइ



टेड्रोस अधानोम घेब्रेसुस
अ+ अ-

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले अमेरिकाले डब्ल्युएचओबाट फिर्ता हुने निर्णयका लागि दिएको कारण ‘असत्य’ रहेको बताउनुभएको छ।

शनिबार सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै डब्ल्युएचओ प्रमुख टेड्रोसले उक्त कदमले संयुक्त राज्य अमेरिका र विश्व दुवैलाई “कम सुरक्षित” बनाउने उल्लेख गर्नुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन सन् २०२५ जनवरी २० मा संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विशेष निकाय डब्ल्युएचओबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सुरु गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। त्यसको दुई दिनपछि संयुक्त राष्ट्रसङ्घले अमेरिकाबाट औपचारिक सूचना प्राप्त गरेको थियो।

संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुसार फिर्तीसम्बन्धी सूचना दिएको एक वर्षपछि मात्र यो निर्णय कार्यान्वयनमा आउनेछ।

डब्ल्युएचओका धेरै महत्वपूर्ण उपलब्धिहरूमा संस्थापक सदस्यको रूपमा संयुक्त राज्य अमेरिकाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै टेड्रोसले एक्समा लेख्नुभएको छ, “दुर्भाग्यवश, डब्ल्युएचओबाट बाहिरिने अमेरिकाको निर्णयका कारण सत्य छैनन्।”

उहाँले अमेरिकी कदमले अमेरिका र विश्व दुवैको स्वास्थ्य सुरक्षामा नकारात्मक असर पार्ने उल्लेख गर्दै भविष्यमा अमेरिका पुनः डब्ल्युएचओमा सक्रिय सहभागितासहित फर्कने आशा व्यक्त गर्नुभएको छ।

यसैबीच, डब्ल्युएचओले शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी फिर्तीप्रति खेद व्यक्त गरेको छ र ट्रम्प प्रशासनले लगाएका आरोपहरूको खण्डन गरेको छ।

डब्ल्युएचओका अनुसार अमेरिकी फिर्तीले उठाएका विषयहरू कार्यकारी समितिको नियमित बैठक (फेब्रुअरी २ देखि) तथा सन् २०२६ मेमा हुने विश्व स्वास्थ्य सम्मेलनको वार्षिक बैठकमा छलफल गरिनेछ।

डब्ल्युएचओका एक प्रेस अधिकारीले सिन्ह्वालाई इमेलमार्फत जानकारी दिँदै भन्नुभयो, “यसका परिणामहरू सामना गर्न डब्ल्युएचओ सचिवालयले हाम्रा परिचालक निकायहरूको सल्लाह र मार्गदर्शनअनुसार आवश्यक कदम चाल्नेछ।”

ती अधिकारीका अनुसार अमेरिकाले हालसम्म आफ्नो सदस्यता शुल्कसम्बन्धी बक्यौता भुक्तानी गरेको छैन। “आजसम्म संयुक्त राज्य अमेरिकाले सन् २०२४–२०२५ का लागि तोकिएको मूल्याङ्कन योगदान रकम भुक्तानी गरेको छैन,” उहाँले बताउनुभयो।

अमेरिकास्थित नेसनल पब्लिक रेडियो (एनपीआर) को रिपोर्टअनुसार ती दुई वर्षको कुल बक्यौता रकम करिब २७८ मिलियन अमेरिकी डलर पुगेको छ।