२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा अमेरिकी विमान खसालेको तालिबानको दाबी



अ+ अ-

काबुल । तालिबानहरुको निकै प्रभाव रहेको अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा आफ्ना लडाकूहरुले एक अमेरिकी विमान खसालिदिएको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ । सोमबार दुर्घटनाग्रस्त भएको सो विमान आफ्ना लडाकूले खसालेको तालिबानले बताएको छ । तर पनि अमेरिकाले भने तालिबानको सो भनाईको खण्डन गरेको छ । अफगानिस्तानको स्थानीय समयअनुसार सोमबार दिउसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा सो विमान दुर्घटनाग्रस्त भएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयबासीले जानकारी गराएका छन् ।

अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनका प्रवक्ता जबिउल्लाह मुजाहिदले मङ्गलबार ट्वीट गर्दै तालिबान संगठनका लडाकूहरुले सोमबार गजनी प्रान्तमा एक अमेरिकी विमान खसालिदिएको बताएका छन् । उनले आफ्नो संगठनका प्राविधिक लडाकूहरुले क्षेप्यास्त्र हानेरसो विमान खसालेको बताएका छन् ।

उनले भने उक्त विमान अमेरिकी गुप्तचर निकायको रहेको र त्यसमा अमेरिकी गुप्तचर निकायका उच्च अधिकारीहरु रहेका बताएका छन् । सो विमानमा ती सबै अधिकारीहरु मारिएको प्रवक्ता मुजाहिदले जानकारी दिनुभएको छ । उहाँले विमानमा रहेका गुप्तचर निकायका वरिष्ठ अधिकारीहरु मारिएका छन् र उनीहरुको शव विमान खसेको वरपर छरिएर रहेका छन् भनी ट्वीटरमा लेखेका छन् ।

तर पनि उनको सो भनाइको अमेरिकाले भने खण्डन गरेको छ । सो विमानको दुर्घटनाको प्रकृति हेर्दा तालिबानहरुले क्षेप्यास्त्र हानेर वा अन्य कुनै बाह्य कारणले विमान खसेको जस्तो नदेखिएको उनीहरुको भनाई छ । अफगानिस्तानमा रहेको अमेरिकी सैन्यका प्रवक्ता विलियम लिगेटले सो विमान तालिबानले खसालेको भन्नेमा आफूलाई विश्वास नरहेको बताए ।