१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियाबाट फर्केर कुखुरापालनमा रमाउँदै युवाहरु



अ+ अ-

बागलुङ । पाँच वर्ष कोरिया बसेर फर्कनुभएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहनुभएको छ ।

बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि रु आठ लाख लगानीमा ‘जेनिसा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याउनुभयो । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय शुरु गरेको हुँ”, उहाँले भन्नुभयो ।

उहाँको ‘फार्म’ को क्षमता एक हजार कुखुरा अट्ने रहेको छ । जाडो मौसम भएकाले अहिले ५५० मात्र ‘ब्रोइलर’ जातका कुखुराका चल्ला हुर्कंदै छन् । “यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच सुनाउनुभयो । उहाँलाई श्रीमती जेनिसालगायत परिवारका सदस्यले व्यवसायमा सघाउँछन् ।

जिसी परिवारले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुशी छन् । उहाँको नजिक वैकुण्ठ उपाध्यायको कुुखुरा ‘फार्म’ छ । उहाँले पनि गत वर्षदेखि सो व्यवसाय शुरु गर्नुभएको थियो । वडा नं ३ रातमाटाका उहाँले पाखाथरमा रहेको छिमेकीको जग्गा भाडामा लिएर ‘फार्म’ सञ्चालनमा ल्याउनुभएको थियो । उहाँले अहिले वार्षिक रु ६० हजार भाडा तिर्नुहुन्छ । करिब रु सात लाख लगानीमा उहाँले दुई हजार कुखुरा अट्ने आधुनिक खोर निर्माण समेत गर्नुभएको छ । उहाँले ‘ब्रोइलर’ कुखुरा पाल्दै आउनुभएको छ ।

रातमाटाकै ३६ वर्षीय विजय शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा सम्लग्न हुनुहुन्छ ।उहाँको घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । रु ४५ हजारबाट शुरु गरेको कुखुरापालन व्यवसायमा लगानी बढेर रु १२ लाख पुगेको छ । उहाँले अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहनुभएको छ । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् । एकपटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ ।
रातामाटाकै युवा वैकुण्ठ सापकोटा एक वर्षदेखि कुखुरापालन व्यवसायमा रमाइरहनुभएको छ । उहाँको ‘सापकोटा कृषि फार्म’मा स्थानीय ‘साकिने’ जातका ८०० कुखुरा छन् । कुखुरापालनबाट उहाँले मासिक रु ५० हजार कमाउनुहुन्छ । “कुखुरासँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ”, उहाँले भन्नुभयो, “उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।” काठमाडौँ, हेटाँैडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ ।“अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय जातका कुखुरापालननमा विस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । सदरमुकाम बागलुङ बजारमा होटल, रेष्टुराँमै मासुको रुपमा कुखुरा बढी खपत हुन्छ ।

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु ७०० मा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा रु १५ र एक साताको चल्ला रु १२५ मा बिक्री हुँदै आएको छ । रातामाटाकै रमेश र दिनेश सापकोटा पनि कुखुरापालनमा व्यस्त हुनुहुन्छ ।

सापकोटा दुई भाइ मिलेर एक हजार ‘ब्रोइलर’ कुखुरा पाल्दै आउनुभएको छ । कुखुरापालन व्यवसाय फस्टाउँदै जान थालेपछि रोजगारी पनि सिर्जना हुन थालेको छ । मासिक ज्यालादारीमै भए पनि श्रमिकले काम पाएका छन् । रातामाटा र पाखाथर छुट्टाछुट्टै वडामा परे पनि एकापसमा जोडिएका गाउँ हुन् ।

दुवै गाउँका युवा मेहनत र लगावका साथ व्यावसायिक कुखुरापालनमा लागेपछि वरपरका धेरैले प्रशंसा गर्न थालेका छन् । सदरमुकामसँग जोडिएका कारण कुखुरालाई बजारको समस्या छैन । लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने युवा उद्यमीको माग छ ।