१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा



अ+ अ-

दमौली । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो ।

ज्योतिषीय गणना अनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिन्छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले धार्मिक पुण्य प्राप्ति हुने मान्यता र जनविश्वास रहिआएको बरालले बताउनुभयो । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन भएको विश्वास रहिआएको उहाँले उल्लेख गर्नुभयो ।

मेलाअवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिनुभयो ।

नवलपुरतर्फका भक्तजनहरू हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिँधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ ।

चिवनतर्फबाट आउने सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनलाई सीताराम संस्कृत माविको परिसरभित्र व्यवस्था मिलाइएको छ भने ठूला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिका लागि दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर–पूर्वक्षेत्रमा रहेको बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको बरालले जानकारी दिनुभयो ।

तनहुँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसङ्गम र फर्कदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने मार्ग कायम गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले जानकारी दिनुभयो । उक्त दिन तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

तीर्थस्थलमा धुम्रपान, मांस, मदिरा एवं सुर्तीजन्यपदार्थ निषेध गरिएको छ । ती वस्तुहरू बिक्रीवितरण, ओसारपसार तथा सेवन नगरी सहयोग पुर्याउन समितिका अध्यक्ष डा लौडारीले आग्रह गर्नुभयो । “वेणीमा स्नान गर्ने क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ”, उहाँले भन्नुभयो ।

आज बिहान देवघाटधामका विभिन्न आश्रमका पीठाधीशहरूको उपस्थितिमा धार्मिक विधि अनुसार वेणीसङ्गममा लिंगो गाडेर मेलाको शुभारम्भ गरिने समितिले जनाएको छ । रासस