१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा
अ अ+ अ-

धरान (सुनसरी), २८ पुसः ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ ।

ऐतिहासिक गढीको सम्बन्ध र भुमिकालाई जोड्दै आयोजना गरिएको यस कार्यक्रम महत्वपूर्ण रहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले बताउनुभयो । “नेपाली सेनाले आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष धरान उपमहानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा हामी खुसी छौँ”, उहाँले भन्नुभयो, “इतिहासमा हाम्रा अग्रजले कहाँ कसरी लडे, कसरी किल्ला खडा गरे र ती किल्लाको महत्व तथा भुमिका के थियो भन्ने कुरा पुनः स्मरण गर्ने अवसर यो कार्यक्रमले दिएको छ ।”

संक्षिप्त इतिहास

धरानस्थित विजयपुरगढी पूर्वी नेपालको रणनीतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण गढी मानिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गर्ने क्रममा विभिन्न स्थानमा गढी, किल्ला र पदमार्ग प्रयोगमा ल्याएका थिए । कोशी प्रदेशमा पनि यी मार्ग र किल्ला महत्वपूर्ण रणनीतिक केन्द्रका रूपमा प्रयोग भएको इतिहासमा उल्लेख छ ।

विशेषगरी पूर्वमा हतुवागढी–भोजपुर, साँगुरीगढी–धनकुटा, विजयपुरगढी–सुनसरी, हेदङ्गनागढी–संखुवासभा, चौदण्डिगढी–उदयपुर, चन्द्रगढी–झापा र गढीथुम्का–इलामजस्ता मुख्य गढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छन् ।

विजयपुरगढी क्षेत्र तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरको रूपमा विसं १७२७ मा स्वतन्त्र भएको थियो । त्यसभन्दा पहिले यो क्षेत्र मकवानपुरको सेन राज्यको अधीनमा थियो । यहाँका पहिलो राजा इन्द्रसेन थिए र तत्कालिन समयमा लालकोट, माथिल्लोकोट, तल्लोकोट र साँगुरीगढीजस्ता बलिया किल्ला÷गढी यहाँ अवस्थित थिए । विजयपुर त्यतिबेला पूर्वीक्षेत्रको प्रशासन, व्यापार र सैनिक शक्ति केन्द्र थियो र यहाँबाट सिक्किमसम्मको प्रशासन सञ्चालन हुने गरेको थियो ।

नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले किरात राज्यमाथि आक्रमण गर्न सरदार रामकृष्ण कुँवरलाई खटाएका थिए । सन् १७७२ मा रामकृष्ण कुँवरले दूधकोशी नदी पार गरी किरात क्षेत्रका राजा कर्ण सेनमाथि विजय हासिल गरेका थिए । त्यसपछि विजयपुर क्षेत्र नेपालमा समाहित भयो र पूर्वीसीमासम्म गोर्खाली विजय अभियान अघि बढेको बताइन्छ ।

विजयपुरगढी–साँगुरीगढी पदयात्रा सेनाले बर्सेनी आयोजना गर्दै आएको छ । साँगुरीगढीको ऐतिहासिक स्थलसँगै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो । “पुराना गढी र किल्लाको संरक्षण, पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनासँग मिलेर हामीले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “यस वर्षको कार्यक्रम विशेषगरी धरान उपमहानगरपालिका–१४ मा रहेको विजयपुरगढी र साँगुरीगढीको ऐतिहासिक महत्वलाई जोडेर आयोजना गरिएको छ । गत वर्षसम्म साँगुरीगढी ‘रन’ कार्यक्रमको रूपमा मात्र सञ्चालन हुँदै आएको भए पनि यस वर्ष धरानको विजयपुरगढीदेखि साँगुरीगढीसम्मको पूर्ण दौड आयोजना गरिएको छ ।”

विजयपुरगढी र साँगुरीगढीबीचको ऐतिहासिक सम्बन्ध उजागर गर्दै, भविष्यमा यी स्थललाई पर्यटनका लागि प्रवद्र्धन गर्ने, गढी–किल्लाको संरक्षण सुनिश्चित गर्ने र स्थानीय ऐतिहासिक भूक्षेत्रको महत्व स्थापित गर्ने अवसर प्रदान हुने विश्वास लिइएको छ । पदयात्राले केवल ऐतिहासिकस्थलको स्मरण मात्र नभएर राष्ट्रिय एकता र देशप्रेम प्रवद्र्धन गर्ने काम गर्नुका साथै आगामी पुस्तामा इतिहासप्रतिको चेतना जगाउने सेनाको भनाइ छ ।

पदयात्राको अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड आयोजना गरिएको थियो । जसमा पाँच किलोमिटर दौड (महिला र पुरुष ) र १० किलोमिटर दौड (पुरुष÷महिला) विधा समावेश गरिएको थियो । १० किलोमिटर खुल्ला दौडमा पुरुष २३६ जना र महिला ४० जना साथै पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो ।

दस किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश रु २५ हजार रु १५ हजार र रु १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुषलाई क्रमशः रु १२ हजार, रु आठ हजार र रु पाँच हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट १० भित्र पर्ने अन्य सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वीपृतना हेड क्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, विभिन्न गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना हुने गरेको छ । ऐतिहासिक निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रिबासमा पुगेर समापन गरिने सेनाले जनाएको छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुखहर्कराज साम्पाङ्ग राई, श्री पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरवकुमार केसी, श्री नं २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणा, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सुनसरी श्री भगवतीदल गणका प्रमुख सेनानी श्री राजन भूजु, धनकुटास्थित श्री भीमदल गणका गणपति गणेश थापालगायतको उपस्थिति थियो । संगीता राई/रासस