१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

खेलकूदमा अब्बल सुदूरपश्चिममै छैन पूर्वाधार

खेलकूदमा अब्बल सुदूरपश्चिममै छैन पूर्वाधार
अ अ+ अ-

शेरबहादुर सिंह

धनगढी । नेपालमा हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालले ५१ स्वर्णसहित २०६ पदक प्राप्त गरेर भारतपछिको दोस्रो स्थान हासिल गर्न सफल भयो । यस प्रतियोगितामा नेपालको सुदूरपश्चिम क्षेत्रबाट सहभागी खेलाडीले मात्र १२ स्वर्ण, ३१ रजत र ३० कास्य पदक दिलाएका थिए । सुदूरपश्चिम क्षेत्रबाट एकल र समूहतर्फ गरी ५९ पुरुष तथा महिला खेलाडी सहभागी थिए । यहाँबाट विभिन्न खेलका नौ प्रशिक्षक सागको बन्द प्रशिक्षणदेखि नेपाली टिम प्रशिक्षणमा व्यस्त रहे । खेलकूदमा यस्तो उल्लेखनीय उपस्थिति यसपटक मात्र नभएर अघिल्लो सागमा पनि सुदूरपश्चिम क्षेत्रको रहेको थियो ।

क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, भलिबल, कवड्डी, फुटबल र बक्सिङ खेलका खेलाडी उत्पादनको थलोका रुपमा हेरिएको सुदूरपश्चिम प्रदेशको खेल प्रशिक्षण भने सबैतिर उपलब्ध छैन । तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्र केन्द्रित हुन पुगेको छ । जसका कारण पहाडी जिल्लाको खेलकूद गतिविधि सुनसानजस्तै बनेको गुनासो खेलाडी, खेलप्रेमी र खेलकूद क्षेत्रका अधिकारीहरुको छ । यहाँ खेलकूद सञ्चालनका लागि संरचनाको अभाव छ भने प्रशिक्षक अपर्याप्त छन् तर यस क्षेत्रका खेलाडीले खेल्न भने पछि हटेका छैनन् । सुदूरपश्चिम खेलकूद प्रशिक्षण केन्द्रका निर्देशक तथा बक्सिङका ओलम्पियन विष्णुबहादुर सिंहले बैतडी, कञ्चनपुर र कैलाली क्रिकेटका खेलाडी तयार पार्न एक किसिमको ‘हब’ नै भएको बताउनुभयो ।

“तीन जिल्लाले क्रिकेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल खेलाडी जन्मायो तर अझै सुदूरपश्चिमले यस खेलको स्थायी प्रशिक्षक पाउन नसक्नु दुःखद् कुरो हो” प्रशिक्षण केन्द्रका निर्देशक सिंहले भन्नुभयो । नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, ललित भण्डारी, चन्द्र साउँद, दिलीप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम, धीरेन्द्र चन्द सुदूरपश्चिमले नै उत्पादन गरेका खेलाडी हुन् । महिलातर्फ हाल यु–१९ का क्याप्टेन डली भट्ट, अञ्जली चन्द, माया रावत, रोशनी बोहरा, कविता जोशी, विन्दु रावल, सोनु खड्का, रेखा रावल, कविता कुुँवर, रितु कनोजियाँ पनि यसै क्षेत्रबाट उत्पादित राष्ट्रिय खेलाडी हुन् ।

तर राष्ट्रिय खेलकूद परिषद्ले सुदूरपश्चिमलाई अझै स्थायी प्रशिक्षक खटाएको छैन । नेपाल क्रिकेट सङ्घसँग आबद्ध रही १६ वर्षदेखि भीमदत्तनगरमा स्वयम्सेवक प्रशिक्षकका रुपमा कार्यरत वीरेन्द्र शाहीले सुदूरपश्चिमबाट क्रिकेट खेलाडी तयार पार्न क्यानको अहम् भूमिका रहेको बताउनुहुन्छ । उहाँले क्रिकेटका लागि सुदूरपश्चिम उर्वर भूमि भए पनि राज्यले चासो नदेखाएको गुनासो गर्नुभयो । प्रदेशमा हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदा ग्रामीण भेगबाट पनि खेलाडी आइरहेको भए पनि राज्यको खेल प्रशिक्षण अझै शहरमुखी रहेको शाहीको भनाइ छ । त्यसैगरी केही समय बैतडीमा स्वयंसेवक प्रशिक्षक रहनुभएका पूर्वखेलाडी दीपेन्द्र चन्द रोजगारीका लागि विदेश गएपछि बैतडी पनि प्रशिक्षकविहीन छ ।

यता कैलालीमा भने गत वर्षदेखि जिल्ला खेलकूद विकास समितिले ज्ञानेन्द्र क्षेत्री र जानकी भट्टलाई क्रिकेटमा करार प्रशिक्षकमा नियुक्त गरेको छ । “जिल्लाले आन्तरिक स्रोतबाट पारिश्रमिक दिने गरी क्रिकेट प्रशिक्षक नियुक्त गरेको हो”, सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले भन्नुभयो । उहाँ पनि प्रशिक्षक कञ्चनपुर र कैलाली केन्द्रित भएको गुनासो गर्नुहुन्छ । उहाँले स्पष्ट नीति नहुँदा पनि पहाडी जिल्लामा प्रशिक्षक खटाउन समस्या रहेको बताउनुभयो । “पहाडतिर खटाएका प्रशिक्षक पहुँचकै आधारमा तराईमै सरुवा आउने प्रवृत्ति बनिसक्यो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार पहाड भलिबल, कराते र बक्सिङका खेलाडी उत्पादन हुने ठाउँ भए पनि ओझेलमा छ । सुदूरपश्चिमबाट विभिन्न खेलबाट उत्कृष्ट प्रदर्शन गरेका सयौँ खेलाडी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध हुने क्रम बढिरहेको क्षेत्रीय कार्यालय प्रमुख मल्लको भनाइ छ । “प्रदर्शन राम्रो गर्नासाथ बेरोजगारी समस्याले विभागीय टिममा खेलाडी गइहाल्छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा स्थायी र करार गरी ४८ जना प्रशिक्षक कार्यरत छन् । पहाडी जिल्लामा कार्यालय भवन स्थापना गरी खेलकूद गतिविधि सञ्चालनको पहल भए पनि व्यवस्थित भने नरहेको मल्लको भनाइ छ ।

उहाँले पहाडी जिल्ला दार्चुलामा कराँते र कवड्डी गरी दुई जना, बझाङमा कराँतेको एक जना, बाजुरामा भलिबलको एक, अछाममा कराँतेका एक जना (करार) र डोटीमा तेक्वान्दो र कराँतेको एक÷एक जना तथा बैतडीमा भलिबलको एक जना प्रशिक्षक मात्र रहेका छन् । एथ्लेटिक्समा सुदूरपश्चिमभर एक जना मात्र प्रशिक्षक कञ्चनपुरमा कार्यरत छन् भने जुडो, सुटिङ र पौडीलगायतका धेरै खेलमा अझै यहाँ प्रशिक्षक रहेका छैनन् । “हालै सम्पन्न साग खेलमा सुदूरपश्चिमका खेलाडीले ल्याएको पदक यहाँको इतिहासमै धेरै हो”, उहाँले भन्नुभयो । पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद्बाट पनि यहाँको खेलमैदान र खेलकूद संरचना निर्माणमा अग्रसरता देखिएको उहाँको अनुभव छ ।

विसं २०६८ मा सुदूरपश्चिममा भएको छैटौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा यहाँ झण्डै साढे छ करोडको खेल संरचना निर्माण भएको क्षेत्रीय खेलकूद विकास समिति धनगढीको भनाइ छ । चालु आर्थिक वर्षमा पनि प्याराफिड, क्रिकेट मैदान र पहाडी जिल्लामा खेल मैदान तथा जग्गा खरिदका लागि रु साढे पाँच करोड राखेपबाट विनियोजन भएर काम थालिएको छ । कैलालीमा प्याराफिट र कवर्ड हलको अधुरो काम पूरा गर्ने र कञ्चनपुरमा क्रिकेट मैदान निर्माणको काम शुरु भइसकेको छ ।

खेलाडीको अभिलेख छैन:सुदूरपश्चिमले राष्ट्रियस्तरमा २०३८ सालमा भएको पहिलो बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितादेखि नै प्रतिनिधित्व जनाउँदै आइरहेको भए पनि त्यसको अभिलेख पनि सुदूरपश्चिममा भेटिँदैन । पौडीमा हाल चर्चामा रहेकी कीर्तिमानी खेलाडी गौरिका सिंहदेखि तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट तथा ओलम्पिकमा बक्सिङमा सन् १९८८ मा पाराग्वेका खेलाडीलाई पराजित गर्ने एकमात्रै नेपाली खेलाडी बक्सर विष्णुबहादुर सिंह सुदूरपश्चिमकै हुन् । तेह्रौँ साग खेलकूद प्रतियोगितामा महिला क्रिकेटमा बिना रन १३ बलमा ६ विकेट दिएकी अञ्जली चन्द (विश्व कीर्तिमान) देखि पछिल्लो पुस्तामा ब्याडमिन्टन खेलमा आफ्नो दबदबा बढाइरहेका प्रिन्स दाहाल पनि सुदूरपश्चिममै जन्मिएका प्रतिभावान खेलाडीमा पर्छन् ।

तर यी सबै खेलाडीको अभलेख न क्षेत्रीय खेलकूद विकास समितिमा छ र नत जिल्लामा रहेका जिल्ला खेलकूद विकास समितिसँग नै छ । क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले पञ्चायतकालमा यहाँ खेलाडीको अभिलेख राखिएको भए पनि पछिल्लो समय भने व्यवस्थापन हुन नसकेको बताउनुहुन्छ । छैटौँ राष्ट्रिय खेलकूद हुँदा यहाँ राखिएको अभिलेख पनि अहिले कुन अवस्थामा र कहाँ छ भन्ने थाहा नभएको उहाँको भनाइ छ । जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले जिल्लामा खेलाडीको अभिलेख नरहेको जानकारी दिनुहुन्छ । उहाँले भन्नुभयो, “अभिलेख क्षेत्रमा हुनसक्छ, प्रशिक्षणमा रहँदाका खेलाडीको मात्र जिल्लामा अभिलेख राख्ने गरेका छौँ ।”

उता खेलकूद सम्बद्ध निकायमा राजनीतिक प्रभाव भने बढ्दोरुपमा रहेको खेल क्षेत्रका मानिस नै बताउँछन् । क्षेत्रीयदेखि जिल्ला र नगरस्तरसम्म गठन हुने खेलकूद विकास समितिमा राजनीतिक पहुँच र भागबन्डाकै आधारमा नियुक्ति दिने प्रचलन अहिले पनि यथावत नै छ । खेलकूदमा कञ्चनपुर र कैलाली ‘क’ वर्ग, डडेल्धुरा, डोटी र अछाम ‘ख’ र बैतडी, बझाङ, बाजुरा र दार्चुला ‘ग’ वर्गमा वर्गीकरण गरिएको क्षेत्रीय कार्यालय प्रमुख मल्लले जानकारी दिनुभयो ।

प्रशिक्षण हल बिना कुस्तीमा अब्बल: गत चैतमा सम्पन्न बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कञ्चनपुरका महिला खेलाडी खेलकूद क्षेत्रमा चर्चाका पात्र बने । उक्त प्रतियोगितामा यहाँबाट सहभागी छ जना महिला खेलाडीले स्वर्ण पदक हात पारे भने अन्यले पनि विना पदक फर्किनुपरेन । कुस्तीमा महिलातर्फ अब्बल देखिएको भीमदत्तनगरमा कुस्तीको प्रशिक्षणका लागि हल नै छैन । कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दले खेलकूद विकास समितिको कार्यालय प्रयोजनका लागि बनाइएको साँघुरो हलमा प्रशिक्षण गराउनुपरेको अप्ठेरो अवस्था रहेको बताउनुहुन्छ ।

उहाँले ८/१० जना खेलाडी जम्मा भए हलमा पालैपालो प्रशिक्षण गराउनुपर्ने बाध्यता रहेको बताउनुभयो । विगत एघार वर्षदेखि करार प्रशिक्षकमै रहेका चन्दले खेल सामग्री भनेकै एउटा म्याट छ तर म्याट कभर छैन भन्नुभयो । तेह्रौँ सागको बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय कुस्ती टोलीले पनि गत जेठमा करिब तीन महिना त्यही साँघुरो हलमा प्रशिक्षण गरेर हेटौँडा हान्निएको थियो । नेपाली कुस्तीको इतिहासमै पहिलो पटक ५५ किलो तौल समूहमा स्वर्ण पदक जित्दा महिला खेलाडी सङ्गीता धामीको चर्चा पनि साग ताका निकै चुलियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी साग स्वार्ण विजेता खेलाडी धामीसँगै सागमा कञ्चनपुरबाट सहभागी अन्य पाँच जना महिला खेलाडीले पनि रजत र कास्य पदक दिलाएको प्रशिक्षक चन्दले बताउनुभयो । सागको १२ औँ संस्करणबाट महिला कुस्तीलाई समावेश गरिएको हो । पहिलो पटक १२ औँ सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग थिए ।

प्रदेश निर्वाचन क्षेत्रमा एक खेल मैदान: सुदूरपश्चिम प्रदेश सरकारले चालु आवमा यहाँका ३२ वटै प्रदेश निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गर्ने लक्ष्य लिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश निर्वाचन क्षेत्रमा खेल मैदान निर्माणका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरेको जनाएको छ । मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख पदमराज जोशीले हरेक निर्वाचन क्षेत्रमा खेलमैदान निर्माणका लागि रु १० लाखका दरले विनियोजन गरिने जानकारी दिनुभयो । सुदूरपश्चिमको खेलकूद संरचना निर्माण, खेल गतिविधि सञ्चालनका लागि चालु आवमा रु नौ करोड बजेट विनियोजन गरिएको महाशाखा प्रमुख जोशीले बताउनुभयो ।

“धनगढी र महेन्द्रनगरको कवर्डहल स्तरोन्नतिका लागि रु एक करोड बजेट विनियोजन भएर काम अघि बढेको छ”, उहाँले भन्नुभयो । जिल्ला खेलकूद विकास समितिलाई खेलकूदका लागि रु पाँच लाखका दरले प्रदेशका सबै जिल्लामा पठाइने जानकारी पनि उहाँले दिनुभयो । त्यसैगरी धनगढीस्थित फाप्ला क्रिकेट मैदानका लागि पनि चालु आवमा रु एक करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको जोशीको भनाइ छ । “फाप्लाको जग्गाको भोगाधिकार प्रदेश सरकारलाई नहुँदा गत वर्ष रु १२ करोड रकम फ्रिज भएको उहाँको भनाइ थियो ।

उहाँले फाप्लालाई बहुउद्देश्यीय रङ्गशालाका रुपमा विकास गर्न प्रदेश सरकार अग्रसर रहेको बताउनुभयो । चालु आवमा यहाँ अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकूदका लागि रु एक करोड र एथ्लेटिक्स प्रतियोगिता सञ्चालनका लागि रु ४५ लाख बजेट विनियोजन गरिएको खेलकूद महाशाखा प्रमुख जोशीले जानकारी दिनुभयो ।