४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

बुद्ध भगवानको जन्मबिन्दुको मौन साक्षीः ‘जन्मस्मारक शिला’

बुद्ध भगवानको जन्मबिन्दुको मौन साक्षीः ‘जन्मस्मारक शिला’
अ+ अ-

लुम्बिनी । मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’लाई केही वर्षअघि संसारसामु सार्वजनिक भएसँगै बुद्धको जन्मस्थलका बारेमा विश्वभर चलिरहेका सबै प्राज्ञिक बहसमा सदाका लागि ‘पूर्णविराम’ लाग्यो । आज त्यही ढुङ्गा शाक्यमुनि बुद्धको जन्मको निर्विवाद ऐतिहासिक साक्ष्यको रुपमा पुजित छ ।

सन् १९९२ देखि १९९५ सम्म लुम्बिनी विकास कोष, नेपाल सरकार र जापान बुद्धिस्ट फेडरेसनले संयुक्त रूपमा मायादेवी मन्दिरको जगसम्म पुगेर उत्खनन गर्दा मन्दिरको भग्नावशेषभित्र, १५ तहका इँटाको सुरक्षात्मक घेरा (चेम्बर)भित्र त्यो प्राचीन ढुङ्गा विशेष रूपले सजाइएको अवस्थामा फेला परेको थियो ।

लुम्बिनी विकास कोष पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले भन्नुभयो, “यो ढुङ्गा ठ्याक्कै त्यही स्थानमा भेटिएको थियो, जसको मुनि इसापूर्व छैठौँ शताब्दीको काठको प्राचीन मन्दिरको अवशेष भेटिएको थियो ।” यसले बुद्धको समयदेखि नै यो स्थानलाई ‘पवित्र’ मानी पूजा गरिँदै आएको तथ्यलाई वैज्ञानिक रूपमै प्रमाणित गरिदिएको उहाँले बताउनुभयो ।

उप्रेतीका अनुसार, “अशोक स्तम्भको शिलालेखमा उल्लेखित ‘सिलाविगडाबीच’ शब्दले पनि यसै ‘जन्मस्मारक शिला’ लाई सङ्केत गर्दछ ।” सत्तरी सेन्टिमिटर लम्बाइ र ४० सेन्टिमिटर चौडाइ भएको ‘जन्मस्मारक शिला’ लुम्बिनीकै माटोमा पाइएको स्थानीयको दाबी छ । लुम्बिनी र बुद्ध धर्मका अध्येता भोला गुप्ताका अनुसार तत्कालीन लुम्बिनीका बासिन्दाले त्यो ढङ्गा नजिकैको तेलार नदीबाट ल्याएर बुद्ध जन्मेको ठ्याक्कै विन्दुमा चिनोस्वरुप राखेर पूजापाठ गर्दै आएको र ईसापूर्व २४९ मा सम्राट अशोकले लुम्बिनी भ्रमणका बेला देखेर त्यो ढुङ्गालाई सोही ठाउँमा विधिवत् स्थापना गरी पूजापाठ गर्नुभएको थियो ।

“बुद्ध जन्मस्मारक शिला केबल एउटा ढुङ्गाको टुक्रा मात्र नभइ लुम्बिनीको अस्तित्वको आधार पनि हो” लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले भन्नुभयो,“इसापूर्ब छैठाँै सताब्दीमा मायादेवी मन्दिरभित्र बुद्धको जन्मस्थानमा स्थापित यो ऐतिहासिक बुद्ध जन्मस्मारक शिला नभेटिएको भए विश्वले अझै पनि बुद्धको जन्मविन्दु खोजिरहनुपर्ने अवस्था हुन्थ्यो ।” यो बुद्ध जन्मस्मारक शिलाको अध्ययन र उत्खननले प्राचीन ग्रन्थहरूको व्याख्यालाई बलियो आधार दिएको उहाँको भनाइ छ ।

जन्मस्मारक शिलामुनिको माटो परीक्षण गर्दा त्यहाँ कुनै पनि मानवीय गतिविधिको अवशेष नभेटिएको हुँदा यसले प्राचीन ग्रन्थ ‘ललितविस्तर’ मा उल्लेख भए झैँ लुम्बिनी एक शान्त, स्वच्छ तथा रमणीय ‘वाटिका’ नै थियो भन्ने कुरालाई वैज्ञानिक रूपमा पुष्टि गरेको छ । लुम्बिनीको पुरातात्विक उत्खननमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले आफ्नो लेख ‘द मार्कर स्टोनः द एक्ज्याक्ट बर्थप्लेस अफ लार्ड बुद्ध’ र ‘सबैभन्दा पुरानो बौद्ध तीर्थस्थलः बुद्धको जन्मस्थल लुम्बिनीको उत्खनन (२०१३)’ मा यो ‘जन्मस्मारक शिला’ सम्राट अशोक लुम्बिनीको तीर्थाटनमा हुनुभन्दा अघिदेखि नै सोही स्थानमा रहेको दाबी गर्नुभएको छ ।

दुर्हम विश्वविद्यालयका प्रा राबिन कनिङघमले ‘द आर्किओलोजी अफ साउथ एसियाः फ्राम द इन्डुस टु अशोका’ लगायतका शोधपत्रमा मार्कर स्टोनमुनि भेटिएका काष्ठ संरचनाका अवशेषहरूको अध्ययनका आधारमा ईसापूर्व छैठौँ शताब्दीभन्दा अघि नै त्यहाँ धार्मिक संरचना रहेको दाबी गर्दै यसलाई विश्वकै सबैभन्दा पुरानो बौद्ध स्मारकका रूपमा व्याख्या गर्नु भएको छ । उहाँका अनुसार, उत्खननका क्रममा भेटिएका लुम्बिनीका भग्नावशेषले सम्राट अशोक आउनुभन्दा धेरै पहिलेदेखि नै यो स्थान एउटा महत्वपूर्ण धार्मिक केन्द्र रहेको प्रमाणित गर्दछन् । चिनियाँ तीर्थयात्री फा–हियान (सन् ४०३) र ह्वेन साङ (सन् ६३६)ले पनि आफ्नो यात्रा संस्मरणमा बुद्ध जन्मस्थलको विशेष चिह्न ‘जन्म स्मारकशिला’ बारे स्पष्ट उल्लेख गर्नुभएको छ ।

स्थानीय बासिन्दाका लागि यो शिला उहाँहरूको पुख्र्यौली विश्वासको एउटा जीवन्त दस्ताबेज हो । मायादेवी मन्दिरका पुस्तैनी पुजारी स्व गङ्गाप्रसाद पाण्डेका छोरा एवं बौद्ध भिक्षु विवेकानन्दले भन्नुभयो, “हाम्रा पूर्खाले यहाँ केही पवित्र चिज छ भन्नुहुन्थ्यो, उत्खननका बेला जब त्यो शिला देखियो, तब हामीलाई कति पुण्य भूमिमा रहेका छौँ भन्ने महसुस भयो ।” उहाँका अनुसार यो शिला केवल अनुसन्धानको विषय नभइ विश्वभरका बौद्धमार्गीको आस्थाको जीवन्त दस्तावेज हो ।अहिले यो अमूल्य शिलालाई मायादेवी मन्दिरभित्र विशेष ‘बुलेटप्रुफ’ सिसाको बाकसमा सुरक्षित राखिएको छ । मन्दिरभित्रको आद्र्रता (ह्युमिडिटी) तथा हानिकारक ग्यासले शिलालाई क्षति नपुगोस् भनेर २४ सै घण्टा प्राविधिकहरुबाट निगरानी गरिन्छ । पुरातत्व विभागका अनुसार यसको सुरक्षा नेपालको मात्र नभइ सम्पूर्ण मानव सभ्यता र विश्व सम्पदाको संरक्षणका लागि एउटा ठूलो जिम्मेवारी हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यकारी प्रमुख कल्पना हरिजनका अनुसार यो स्थानीयका लागि गौरवको सम्पदा हो । नगर प्रमुख कल्पनाले भन्नुभयो, “ऐतिहासिक रूपमा, तत्कालीन लुम्बिनीवासीले बुद्धको जन्म विन्दुलाई सधैँका लागि पहिचानमा राख्न नजिकैको तेलार नदीबाट त्यो बलौटे ढुङ्गा ल्याएर चिनोका रूपमा राखेका थिए । जसलाई सम्राट अशोकले संरक्षण प्रदान गर्नुभयो ।”

बुद्ध जन्मस्मारक शिला बौद्धमार्गीको ऐतिहासिक आस्थाको भौतिक प्रमाण भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं बौद्ध भिक्षु डा ल्हारक्याल लामाले भन्नुभयो, “यो मौन शिलाले विगत २६ सय वर्षको इतिहासलाई सुरक्षित राखेर विश्वलाई शान्ति, सत्य र अहिंसाको मार्ग देखाइरहेको छ ।” उहाँका अनुसार प्राचीनकालमा हजारौँ तीर्थयात्रीले यस पवित्र शिलालाई स्पर्श गरेर आशीर्वाद लिने गर्दथे ।