२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लापरवाहीले ‘दुर्घटना’



अ+ अ-

बागलुङ । तीन जनाको ज्यान जाने गरी तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ग १ त ५७६२ नम्बरको ट्र्याक्टर म्याग्दीको मालिका गाउँपालिका–२ बाट तमानखोला गाउँपालिका–१ बोङ्गादोभान जाने क्रममा दुर्घटनामा परेको थियो । ट्र्याक्टरमा मालिकाका प्रताप पुनको बिहेमा हिँडेका ३५ जन्ती सवार थिए । कच्ची सडकमा ट्र्याक्टरमा जन्ती बोकेर चालकले कमजोरी गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

“चालक, यात्रु दुवै पक्षको लापरवाही देखिन्छ”, उनले भने, “सामान्य सजगता पनि अपनाएको पाइएन ।” प्रहरीले चालक ३५ वर्षीय रमेश घर्तीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । पैदल जान गाह्रो भएपछि कुखुराको दाना लिन हिँडेको ट्र्याक्टरमा जन्ती चढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्र्याक्टर दुर्घटना हुँदा मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको थियो ।

ट्र्याक्टर सडकदेखि करिब ५० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाका तीन गम्भीर घाइतेलाई उद्धार गरी बिहीबार साँझ बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । घाइतेमध्ये खगेन्द्र पुनलाई बुटवल, मनप्रसाद पुन र गौमाया पुनलाई थप उपचारको लागि पाल्पा अस्पतालमा पुर्याइएको छ । तीनै जनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

बाँकी सात जना सामान्य घाइते तमानखोला स्वास्थ्यचौकीमै उपचार गरेर घर फर्केका छन् । मृतकको शव परीक्षणपछि आज परिवारले बुझेको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रिनबहादुर बैदवारले जानकारी दिए । दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटेका थिए ।