१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्रोन विवादले कोरियाली तनाव उत्कर्षमा



अ+ अ-

सियोल। उत्तर कोरियाले दक्षिण कोरियामाथि सीमा पार गरी ड्रोन उडाएको गम्भीर आरोप लगाउँदै त्यसको ‘कडा जवाफ’ दिने चेतावनी दिएको छ ।

शनिबार उत्तर कोरियाली सेनाले जारी गरेको विज्ञप्तिमा दक्षिण कोरियाले गरेको भनिएको ड्रोन घुसपैठलाई ‘अक्षम्य उन्माद’ को संज्ञा दिँदै त्यसको परिणाम अवश्य भोग्नुपर्ने बताइएको छ । दक्षिण कोरियाले भने यी सबै आरोप तुरुन्तै अस्वीकार गरेको छ ।

उत्तर कोरियाको कोरियाली पिपुल्स आर्मीका जनरल स्टाफले राज्य सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार आइतबार उत्तर कोरियाको सीमावर्ती सहरमाथि उडिरहेको एक दक्षिण कोरियाली ड्रोनलाई विशेष इलेक्ट्रोनिक युद्ध प्रविधि प्रयोग गरी खसालिएको थियो । उक्त ड्रोनमा दुईवटा क्यामेरा जडान गरिएको र ती क्यामेराले उत्तर कोरियाका अनिर्दिष्ट क्षेत्रहरूको तस्बिर खिचिरहेको दाबी गरिएको छ ।

विज्ञप्तिमा उत्तर कोरियाले इलेक्ट्रोनिक आक्रमणपछि पनि सेप्टेम्बर २७ मा अर्को दक्षिण कोरियाली ड्रोन उत्तर कोरियाको हवाई क्षेत्रमा घुसपैठ गरेको आरोप लगाएको छ । अधिकारीहरूले उक्त ड्रोनबाट उत्तर कोरियाका ‘महत्त्वपूर्ण वस्तुहरू’ सम्बन्धी भिडियो डाटा फेला परेको दाबी पनि गरेका छन् ।

“हाम्रो सार्वभौमसत्तामाथि गुण्डाहरूले पटक–पटक गरेको अपमानजनक अतिक्रमण र खुला उत्तेजक कार्यहरूको हामी कडा निन्दा गर्दछौँ”, उत्तर कोरियाले जनाएको छ । विज्ञप्तिमा दक्षिण कोरियालाई आधिकारिक नाम गणतन्त्र कोरिया (आरओके) उल्लेख गर्दै ‘आरओकेका सैन्य युद्धोन्मादीहरू आफ्ना अक्षम्य उन्मादका लागि निश्चित रूपमा महँगो मूल्य तिर्न बाध्य हुनेछन्’ भन्ने चेतावनी दिइएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने उत्तर कोरियाले दाबी गरेको समयमा वा स्थानमा कुनै पनि दक्षिण कोरियाली ड्रोन सञ्चालन नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार उत्तर कोरियाले उल्लेख गरेको ड्रोनको प्रकार पनि दक्षिण कोरियाको सेनाले प्रयोग गर्ने ड्रोनसँग मेल खाँदैन ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी किम होङ–चियोलले उत्तर कोरियामा फेला परेका ड्रोनहरू सर्वसाधारणले उडाएका हुन् कि होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले दक्षिण कोरियाको तर्फबाट उत्तर कोरियालाई उक्साउने कुनै उद्देश्य नरहेको र कोरियाली प्रायद्वीपमा विश्वास निर्माण गर्ने प्रयासहरू निरन्तर जारी रहनेसमेत स्पष्ट पार्नुभएको छ ।

यो घटनाक्रमले दक्षिण कोरियाको वर्तमान उदार सरकारद्वारा उत्तर कोरियासँग सम्बन्ध सुधार्ने प्रयासलाई थप जटिल बनाउने देखिएको छ । जुन महिनामा पदभार ग्रहण गर्नुभएका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न र दीर्घकालीन शत्रुतालाई कम गर्न सक्रिय पहल गर्दै आउनुभएको छ । तर उत्तर कोरियाले उहाँका प्रस्तावहरूलाई हालसम्म दृढतापूर्वक अस्वीकार गर्दै आएको छ ।

राष्ट्रपति लीले हालै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर भेटमा दुई कोरियाबीचको वैमनस्य कम गर्न चीनलाई मध्यस्थकर्ताको भूमिकामा सहयोग गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपति सीले भने धैर्य र संयम अपनाउनुपर्ने सुझाव दिनुभएको बताइएको छ ।

उत्तर कोरियाले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय आणविक कूटनीति असफल भएपछि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको संवाद प्रायः त्यागेको छ । त्यसयता उत्तर कोरियाले आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई अझ शक्तिशाली बनाउने दिशामा ध्यान केन्द्रित गर्दै आएको छ । साथै, उसले दक्षिण कोरियासँगको सम्बन्ध समाप्त भएको घोषणा गर्दै कोरियाली प्रायद्वीपमा शत्रुतापूर्ण ‘दुई–राज्य’ प्रणालीको अवधारणा अघि सारेको छ ।

ड्रोन उडानको विषय पछिल्ला वर्षहरूमा दुई कोरियाबीचको निरन्तर विवादको स्रोत बनेको छ । दुवै पक्षले एकअर्कामाथि आ–आफ्नो क्षेत्रमा ड्रोन पठाएको आरोप लगाउँदै आएका छन् । सन् २०२४ को अक्टोबरमा उत्तर कोरियाले दक्षिण कोरियाले आफ्नो राजधानी प्योङयाङमाथि प्रचार सामग्री खसाल्न तीन पटक ड्रोन उडाएको आरोप लगाएको थियो । दक्षिण कोरियाली सेनाले भने त्यसबेला ती दाबी पुष्टि गर्न नसक्ने बताएको थियो ।

त्यस घटनापछि उत्तर कोरियाले बल प्रयोग गर्ने धम्की दिएसँगै तनाव तीव्र बनेको थियो, यद्यपि दुवै पक्षले कुनै ठूला सैन्य कारबाही नगरेपछि स्थिति क्रमशः शान्त भएको थियो । अर्कोतर्फ, दक्षिण कोरियाले पनि उत्तर कोरियाले कहिलेकाहीँ आफ्नो क्षेत्रमा ड्रोन उडाउने गरेको आरोप लगाउँदै आएको छ ।

डिसेम्बर २०२२ मा दक्षिण कोरियाले पाँच वर्षपछि पहिलो पटक उत्तर कोरियाली ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको प्रतिक्रिया स्वरूप चेतावनी गोली चलाएको, लडाकु जेट र निगरानी ड्रोन परिचालन गरेको घोषणा गरेको थियो । हालको ड्रोन विवादले पुनः एक पटक कोरियाली प्रायद्वीपमा बढ्दो अविश्वास र तनावलाई उजागर गरेको विश्लेषकहरूले बताएका छन् ।  (रासस/एपी)