२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाम आयल भारत निकासी खुला, भारतले हटायाे प्रतिबन्ध



अ+ अ-

काठमाडौं : भारत सरकारले केहीअघि नेपालबाट पाम तेल भारत आयात गर्न लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । नेपालबाट मात्रै प्रशोधन गरी तेल आयात गर्न एक भारतीय आयातकर्ताले अनुमति पाएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन् ।

‘बिहीबार भारतीय एक आयातकर्ताले लाईसेन्स पाएका छन्, अब अरुले पनि पाउने छन्, नेपालबाट निर्यात खुल्ला भयो,’ राज्यमन्त्री दुगडले भने । माघ दोस्रो हप्ता पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपालले भारतलाई औपचारिक आग्रह गरेको थियो । प्रतिवन्ध हटेसँगै नेपालले निर्यात प्रवर्द्धनका पक्ष्मा राहत पाएको छ । हाल नेपालको निर्यातमा ‘ट्रान्जिट वस्तु’कै रुपमा भएपनि पामको हिस्सा ठूलो छ ।

पुस २३ गते भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । कास्मिर मुद्दामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम तेलको आयात रोक्ने निर्णय गरेको खबर सार्वजनिक भएको थियो । भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने उल्लेख थियो ।

भारतको उक्त निर्णयले तेस्रो मुलुकबाट कच्चा पाम तेल ल्याई प्रशोधन गरेर भारत निर्यात गर्दै आएका नेपाली व्यापारी मर्कामा परेका छन् । मोरङ उद्योग वाणिज्य संघका अनुसार नेपालमा विराटनगर र वीरगन्जमा एक दर्जनभन्दा बढी पाम तेल प्रशोधन गर्ने उद्योग सञ्चालन छन् ।

यकीन तथ्यांक र लगानी नभए पनि उद्योगीहरूको प्रारम्भिक अनुमानअनुसार नेपाली उद्योगमा २५ अर्ब रुपैयाँभन्दा बढी रकम पाम तेल प्रशोधन उद्योगमा लगानी गरेका छन् । यसमा ११ हजार जनाले रोजगारी प्राप्त गरेको अनुमान गरिएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ९ अर्ब ९४ करोड रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ भने भारततर्फ ११ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ ।

भारतमा भन्दा नेपालमा पाम तेल सस्तो पाउने भएपछि भारतीय व्यवसायीले नेपाली बजारबाट तेल किन्न थालेका थिए । अर्कोतर्फ इण्डोनेसिया र मलेसियाबाट प्रशोधित पाम तेल आयात गर्दा भारतीय लगानीकर्तालाई ४० प्रतिशत भन्सार शुल्क लाग्छ । तर नेपाली आयातकर्ताले १० प्रतिशत भन्सार तिरेर ती मुलुकबाट तेल आयात गर्न सक्छन् ।

सिधै इन्डोनेसिया र मलेसियाभन्दा नेपालबाट लिंदा सस्तोमा तेल पाइने भएपछि नेपालको बाटो हुँदै पाम तेल भारतीय बजारमा जाने क्रम बढेको थियो । कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा झुरुम्म बनाउनका लागि पाम तेल उपयोगी हुने बताइन्छ । पाम तेल पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिकलगायतका सामाग्री बनाउन यसको प्रयोग हुन्छ ।

इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन हुने एक प्रकारको वनस्पतिजन्य तेल नै पाम हो । एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ । पाम तेलको कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ ।