२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ मर्स्याङ्दीद्वारा एनआरटी पराजित, उपाधि हाेड कायमै



अ+ अ-

काठमाडाैंः साविक च्याम्पियन मनाङ मर्स्याङ्दीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार न्युरोड टिम (एनआरटी)लाई ४–१ ले हराउँदै उपाधि होड कायमै राखेको छ । ११ औं चरणको अन्तिम एक खेलमा मनाङले एनआरटीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि यात्रालाई आइतबार जीवन्त राखेको हो । फराकिलो जित निकालेको मनाङ २२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यद्यपि मनाङ शीर्ष स्थानको आर्मी भन्दा ४ अंकले पछि छ । लिगमा अब दुई खेल बाँकी रहेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा मनाङलाई जित दिलाउन अञ्जन बिष्टले २ तथा बिमल राना र दयानन्द सिंहले समान १–१ गोल गरे ।

एनआरटीका लागि सकल रेग्मीले सान्त्वना गोल गरे । लिगमा १२ औं चरणका खेलहरु सोमबारबाटै हुनेछन् । सोमबार तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने तीन खेल मध्ये पहिलो फ्रेण्ड्स क्लब र एपीएफ, दोस्रो खेल च्यासल युथ क्लब र सरस्वती युथ क्लब तथा तेस्रो खेल मच्छिन्द्र र संकटा क्लबबीच हुनेछ ।

११ औं चरणको खेलको समाप्तिमा २६ अंक सहित त्रिभुवन आर्मी शीर्ष स्थानमा छ । २५ अंक जोडेको मच्छिन्द्र दोस्रो, २२ अंकमा मनाङ तेस्रो र २० अंकमा थ्रीस्टार चौथो स्थानमा छन । ४ अंक मात्र भएको सरस्वती रेलिगेशन क्षेत्रमा छ भने एक अंकले मात्र अगाडि एपिएफ रहेको छ ।