२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका अध्यक्ष र क्यानडाका सभामुखबीच भेट



अ+ अ-

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट भएको छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा भेटवार्ता गरेको हो । भेटका क्रममा नेपाल र क्‍यानडाबीचको संसदीय सहकार्य लगायत विषयमा कुराकानी भएको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फूयाँलले संसदीय सम्बन्धमा यो अहिले सम्मकै उच्चस्तरीय भ्रमण भएको तथा भेटवार्ताले संसदीय अभ्यास र सिकाईको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने बतए । सचिव फूयाँलका अनुसार, भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए । दुवैदेशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गर्दै संसद मैत्रीसमूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरेका थिए ।

उनले नेपालका प्रथामिकता र उद्देश्यमा क्यानडा लगायत अन्तराष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताए । भेटका क्रममा क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएका थिए । क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेदवारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा गरेको पनि सचिव फुयाँलले जानकारी दिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि संसदीय टोलीले भेटघाट गर्ने कार्यतालिका छ ।