२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी



अ+ अ-

खोटाङ, २४ पुसः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्तामा चित्र बनाइरहेका छन् ।

दश दिनसम्म यहाँ बस्ने विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई नमूना बजार बनाउने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको अभियानमा ललितकलाका विद्यार्थीले कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाइरहेका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नगरपालिकाको आम्दानीको स्रोतसमेत वृद्धि गर्नेछ ।”

नगरपालिकाको आयोजनामा यही पुस ३० गतेसम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी विद्यार्थीलाई स्थानीयको इच्छा तथा टोलको विशेषता झल्कने किसिमका चित्र बनाउन लगाउने गरिएको छ । नेवार समुदायको बाहुल्यता रहेको शान्ति टोलमा नेवारी संस्कार तथा संस्कृति झल्कने चित्र बनाउन लगाइएको स्थानीयवासी एवम् नेवाः दय् दवू दिक्तेलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

‘कला, साहित्य र वातावरण संरक्षण हाम्रो परिकल्पना’ नाराका साथ चित्र बनाउन दिक्तेल आएका विद्यार्थीले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत चित्रकलासम्बन्धी इच्छुक विद्यार्थीलाई समेत चित्र बनाउने कला सिकाइरहेका छन् । विद्यार्थीलाई नगरपालिकाले खाने, बस्ने र आवश्यक सामग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिनुभयो । नगरपालिकाले गत वर्ष मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको थियो । उक्त कार्यशालामा २१० चित्र क्यानभासमा उतारिएका थिए ।रासस