५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन त हुन्छ नै तर मुलुकको अवस्था निकै संवेदनशील छ: प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको हो।

पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘अहिले मुलुकको अवस्था निकै संवेदनशील छ। प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका भूमिका खेल्नुपर्नेछ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ। यसका लागि तपाईँहरुले पनि भूमिका खेलिदिनुहोस्।’

निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो।

‘निर्वाचन त हुन्छ नै। अब यो निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्छ। नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गएमा मुलुकले पक्कै लय समाउनेछ,’ उहाँले भन्नुभयो।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा पूर्वसांसदहरु रामेश्वर राय, विश्वेश्वरा दाहाल, रमा गुरागाईँ, गोविन्दबहादुर शाह, हिक्मतबहादुर शाही, शंकरनाथ शर्मा, शिवराज जोशी, नरबहादुर हमाल, अक्कलबहादुर विष्ट, विष्णुबहादुर राउत लगायत सहभागी हुनुहुन्थ्यो।

मञ्चका तर्फबाट अध्यक्ष श्रेष्ठले मुलुकका सामु निर्वाचन नै निकासको एक मात्र लोकतान्त्रिक विकल्प रहेकाले यसमा सरकार सफल हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, ‘यो अफ्ठ्यारो अवस्थामा मुलुकलाई सम्हाल्न आइदिनुभएकामा धन्यवाद छ। हामी आभारी छौँ। यहाँकै नेतृत्वमा निर्वाचन हुनुपर्छ र त्यो वातावरण बन्दै पनि गइरहेको छ। निर्वाचन सफल पार्न हामी सरकारको साथमा छौँ। निर्वाचनमार्फत जननिर्वाचित संसद आए मात्र मुलुकमा लोकतन्त्र जीवित रहन्छ। मुलुकले निकास पाउँछ।’

पूर्वसांसद मञ्चका लागि आवश्यक कार्यालय र स्रोत व्यवस्थाका लागि पनि प्रतिनिधिमण्डलले सरकारलाई आग्रह गरेको छ।