११ असार २०८३, बिहीबार
,
Latest
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिम्केश्वरी पुग्न साधारण मार्ग खोल्न शुरु



अ+ अ-

तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी पुग्न अझै पनि पैदल हिँड्नुपर्ने बाध्यता छ । छिम्केश्वरीसम्म सडक सञ्जाल नजोडिएका कारण यहाँ पुग्ने सर्वसाधारणले पैदल हिँड्नुपर्ने समस्या रहँदै आएको छ । यही बाध्यताको अन्त्य गर्न गण्डकी प्रदेश सरकारले आँबुखैरेनी बजारदेखि छिम्केश्वरीसम्मको सडकमा नयाँ ट्रयाक खोल्न शुरु गरेको छ । महाभारत पर्वतीय श्रृङ्खलाको सबैभन्दा उचाइमा रहेको छिम्केश्वरी मन्दिरसम्म पुग्न प्रदेश सरकारको रु ३० करोडको लागतमा नयाँ ट्रयाक खोल्न शुरु गरिएको हो ।

बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षमा काम सम्पन्न गर्ने प्रदेश सरकारले उक्त सडक निर्माणका लागि चालू आर्थिक वर्षमा रु ५३ करोड विनियोजन गरे पनि ठेक्का प्रक्रियामार्फत काठमाडौँस्थित शर्मा एण्ड काष्ठमण्डप जेभीले रु ३० करोडको लागतमा ठेक्का पाएको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त खण्डमा ४.२५ मिटर चौडाइ कालोपत्र र एक मिटर नालासहित सात मिटर चौडाइको सडक हुनेछ ।

हाल उक्त सडकमा धमाधम ट्रयाक खोल्ने काम भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर आलेले छिम्केश्वरी सडक सञ्जालले जोडिएपछि त्यहाँस्थित मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको बताउनुभयो । “अहिले पनि पैदलयात्रामार्फत थुप्रै भक्तजन छिम्केश्वरी मन्दिर पुग्ने गरेका छन्, सडक सञ्जाल भएपछि थप भक्तजनको आगमन बढ्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जिप यात्रा र त्यसपछि करिब एक/दुई घण्टा पदयात्रा पछि छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीमा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको बसोबास रहेको छ ।

छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल आवलोकन गर्न सकिन्छ । छिम्केश्वरीमा छिम्केश्वरीमाई र बूढीकन्यादेवी माईको मन्दिर रहेको छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पुर्याएका छन् । गाउँपालिकाले मन्दिर पुनःनिर्माणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेको थियो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनःनिर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको छ । मन्दिरको धार्मिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सरकारको रु २५ करोड १० लाख ६० हजारको लागतमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित दुलेगौडा–हर्कपुर सडकखण्डमा कालोपत्रका लागि धमाधम काम भइरहेको छ । सडक कालोपत्र गर्नका लागि हाल उक्त खण्डमा नाला निर्माण गरिनुका साथै सडकको स्तरोन्नति भइरहेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको उक्त मोटरमार्गमा विसं २०७८ माघ १० गतेसम्म कालोपत्र सम्पन्न गर्ने म्याद छ । शुक्लागण्डकी नगरपालिका–म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त सडकको दूरी २३ किमी छ । पहिलो चरणमा १० किमी सडक कालोपत्र गर्न लागिएको छ । सडकको आठदेखि नौ मिटर चौडाइमा साढे ५ मिटरको कालोपत्र हुनेछ । सडक कालोपत्रको ठेक्का काठमाडौँस्थित शङ्करमाली निर्माण सेवाले पाएको छ ।

विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्गमा २४ वर्षपछि कालोपत्र हुने भएसँगै स्थानीयवासी हर्षित छन् । शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले वर्षौंदेखि धुलोबाट आक्रान्त यहाँका स्थानीयवासीलाई सडक कालोपत्र सम्पन्न भएसँगै राहत मिल्ने बताउनुभयो ।