८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराले पाएको सफाई: जसले फसाइन्, उसैले बचाइन्



अ+ अ-

काठमाडौं । गत असोज १२ गते साँझसम्म तत्कालीन सभामुख कृष्णबहादुर महराको जीवन उही सरलरूपमा चलिरहेको थियो । तर, त्यो रात उनको राजनीतिक जीवनमा अभिशाप नै बन्यो ।महराले सोही रातका कारण सभामुख पदबाट राजीनामा दिनुपर्यो भने चार महिनाभन्दा बढी हिरासत र जेलमा बस्नुपर्यो । कारण थियो, संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि रक्सी सेवन गरी करणीको प्रयास गरेको । त्यो घटना बाहिर ल्याउने अरू कोही नभएर उनै शाही थिइन् ।घटना लगत्तै एक अनलाइनलाई आफ्नै डेरामा बोलाएर उनले भिडियो अन्तवार्ता दिँदै घटनाका बारेमा सविस्तार वर्णन गरेकी थिइन् ।

घटनाको विवरण दिनुअघि उनैले प्रहरीको १०० नम्बरमा डायल गरेर प्रहरीलाई जानकारीसमेत गराएकी थिइन् । सोही आधारमा प्रहरीले अनुसन्धान सुरु गरी महरालाई असोज १९ गते सभामुखकै निवासबाट पक्राउ गरेको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्डलाई देखिन्थ्यो । ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले एक अनलाइनसँगको भिडियो अन्तर्वार्तामा पनि बताएकी थिइन् ।

त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र भाँचिएको चस्माको खुट्टा प्रहरीले बरामद गरेको थियो । उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो । यो महराविरुद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो । यस्तै, महराका अंगरक्षकले पनि आफूहरू बाहिर बसेको र महरा रोशनीको कोठाभित्र गएको लिखित बयान प्रहरीलाई दिएका थिए । उक्त लिखित कागज पनि प्रहरीले अदालतमा प्रमाणको रूपमा प्रस्तुत गरेको थियो ।

तिनै प्रमाणलाई आधार मान्दै पाटन उच्च अदालतले पनि महराले आफूलाई थुनामुक्त गरी पाऊँ भन्दै दिएको निवेदन खारेज गरिदिएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै राख्न दिएको आदेशविरुद्ध महरा पाटन उच्च अदालत गएका थिए । महराले आफूमाथि करणीको प्रयास गरेको र कुटपिट गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो । उक्त रिपोर्टले रोशनीमाथि कुटपिट भएको पुष्टि गरेको थियो ।

तर, रोशनीले घटनाको केही दिनपछि बयान फेर्ने सुरु गरेकी थिइन् । उनले आफू डिप्रेसनमा रहेको भन्दै सुरुका भिडियोमा के–के भने के–के भनेर बयान फेरेकी थिइन् । अदालतमा मुद्दा दर्ता भइसकेपछि उनले बयान फेर्दै महरा आफ्नो कोठामा नआएको लिखित निवेदन नै दिएकी थिइन् ।सोही निवेदनका आधारमा न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएका हुन् । ‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबीबमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ’ अदालतले फैसलामा भनेको छ ।

प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मकरूपमा नमिलेकाले महरा निर्दोष ठहर भएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए । महरालाई निर्दोष साबित गरे लगत्तै उनि डिल्लीबजारस्थित सदरखोर जेलबाट मुक्त भएर ललितपुरस्थित आफ्नो निवास खुमलटार पुगेका थिए । जेलबाट छुट्दै गर्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोन गरी बधाइ दिएका थिए । सौर्य दैनिकबाट