काठमाडौं । गत असोज १२ गते साँझसम्म तत्कालीन सभामुख कृष्णबहादुर महराको जीवन उही सरलरूपमा चलिरहेको थियो । तर, त्यो रात उनको राजनीतिक जीवनमा अभिशाप नै बन्यो ।महराले सोही रातका कारण सभामुख पदबाट राजीनामा दिनुपर्यो भने चार महिनाभन्दा बढी हिरासत र जेलमा बस्नुपर्यो । कारण थियो, संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि रक्सी सेवन गरी करणीको प्रयास गरेको । त्यो घटना बाहिर ल्याउने अरू कोही नभएर उनै शाही थिइन् ।घटना लगत्तै एक अनलाइनलाई आफ्नै डेरामा बोलाएर उनले भिडियो अन्तवार्ता दिँदै घटनाका बारेमा सविस्तार वर्णन गरेकी थिइन् ।
घटनाको विवरण दिनुअघि उनैले प्रहरीको १०० नम्बरमा डायल गरेर प्रहरीलाई जानकारीसमेत गराएकी थिइन् । सोही आधारमा प्रहरीले अनुसन्धान सुरु गरी महरालाई असोज १९ गते सभामुखकै निवासबाट पक्राउ गरेको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्डलाई देखिन्थ्यो । ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले एक अनलाइनसँगको भिडियो अन्तर्वार्तामा पनि बताएकी थिइन् ।
त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र भाँचिएको चस्माको खुट्टा प्रहरीले बरामद गरेको थियो । उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो । यो महराविरुद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो । यस्तै, महराका अंगरक्षकले पनि आफूहरू बाहिर बसेको र महरा रोशनीको कोठाभित्र गएको लिखित बयान प्रहरीलाई दिएका थिए । उक्त लिखित कागज पनि प्रहरीले अदालतमा प्रमाणको रूपमा प्रस्तुत गरेको थियो ।
तिनै प्रमाणलाई आधार मान्दै पाटन उच्च अदालतले पनि महराले आफूलाई थुनामुक्त गरी पाऊँ भन्दै दिएको निवेदन खारेज गरिदिएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै राख्न दिएको आदेशविरुद्ध महरा पाटन उच्च अदालत गएका थिए । महराले आफूमाथि करणीको प्रयास गरेको र कुटपिट गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो । उक्त रिपोर्टले रोशनीमाथि कुटपिट भएको पुष्टि गरेको थियो ।
तर, रोशनीले घटनाको केही दिनपछि बयान फेर्ने सुरु गरेकी थिइन् । उनले आफू डिप्रेसनमा रहेको भन्दै सुरुका भिडियोमा के–के भने के–के भनेर बयान फेरेकी थिइन् । अदालतमा मुद्दा दर्ता भइसकेपछि उनले बयान फेर्दै महरा आफ्नो कोठामा नआएको लिखित निवेदन नै दिएकी थिइन् ।सोही निवेदनका आधारमा न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएका हुन् । ‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबीबमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ’ अदालतले फैसलामा भनेको छ ।
प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मकरूपमा नमिलेकाले महरा निर्दोष ठहर भएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए । महरालाई निर्दोष साबित गरे लगत्तै उनि डिल्लीबजारस्थित सदरखोर जेलबाट मुक्त भएर ललितपुरस्थित आफ्नो निवास खुमलटार पुगेका थिए । जेलबाट छुट्दै गर्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोन गरी बधाइ दिएका थिए । सौर्य दैनिकबाट